अछाममा असिना पानीले हिउँदे बालीमा ठुलो क्षति

Posted on: 08 Feb, 2019

कमल रावल । माघ २५, अछाम । अछाम जिल्लामा भिषण असिनापानीका कारण बालीनालीमा क्षति पुगेको छ । बिहिवार राती र शुक्रबार बिहान सम्म करिब ४ घण्टा परेको असिना पानीले हिउँदे बालीमा ठुलो क्षति गरेको छ । असिनापानीका कारण हिउँदे बाली गहुँ, जौ, मसुरो, तोरी, तरकारी बाली र फलफूलका विरुवामा नराम्ररी क्षति पुगेको किसानले बताएका छन् । पानी पर्दा बालीनाली सप्रिने भन्दै खुसी लागेको थियो तर अचानकको असिनाले हिउँदे बाली तरकारी खेती सबैमा क्षति गरेको छ, मंगलसैन ६ का अगुवा किसान नन्दाराम भण्डारीले बताउनु भयो । आफ्नो तरकारी बारीका प्याज, काउली, लसुन, धनियाँ, पालुंगो, आलु बालीमा ठुलो क्षति पुगेको उहाँको भनाई छ । असीनाले फलफुल खेती र तोरी बालीमा पूर्ण रुपमा क्षति गरेको छ ।


मंगलसैन नगरपालिका वडा नम्बर ६ मा असीना पानीले सबै हिउँदे बाली पूर्ण रुपमा नष्ट गरेका किसान बताएका छन् । बर्षे बाली जंगली जनावरले क्षति गर्ने र हिउँदे बाली समेत असीनाले नष्ट गरेपछि किसान भोकमरीको चिन्तामा परेका मंगलसैन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो । किसानलाई राहतका लागि शुक्रबार नै वडाका बैठक गरी नगरपालिका, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउने निर्णय समेत गरेको अध्यक्ष भण्डारीको भनाई छ ।

मेल्लेख गाउपालिका वडा नम्बर ६ शोडषामा पनी हावाहुरिले ७ घरमा क्षति पुरयाएको छ । वडाका नृप विक, लाल विक, ध्वज बहादुर खडका, शोभादेवि कडायत लगाएतका घरमा क्षति पुरयाएको छ भने नवज्योति आधारभुत विद्यालयको समेत पर्खाल भत्काएको स्थानिय तेज बहादुर विकले जानकारी दिनु भयो । असीनाले बालीनालीमा क्षति गरेपछि आफु कसरी विविका चलाउने भन्दै चिन्तामा परेको कमलबजार ७ का किसान खडक खतिवडाले बताउनु भयो । जिल्लाका प्रायः सबै ठाउँमा असिना परेको छ । असिनाका कारण खेतबारी सेताम्मे देखिएको छ । बालीनालीका कलिला मुना नै असिनाले क्षतविक्षद गरेको छ । आफुले लगायको गोलभेँडा खेतीमा असिनाले पुरै क्षति गरेको मंगलसैन ६ का गंगाराम भण्डारीले बताउनुभयो । असिनाका कारण पसाउन ठिक्क भएका गहुँ, जौ, तोरीबालीमा नराम्ररी क्षति गरेको मंगलसैन नगरपालिकाका कृषि प्राविधिक तारा प्रसाद भण्डारीको भनाइ छ । पाक्नै लागेको बाली कहिले जंगली जनावर र कहिले प्राकृतिक बिपत्तिबाट नष्ट हुन थालेपछि किसानहरु कृषि पेशाबाटै विचलित हुन लागेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!