सामुदायिक विद्यालयमा बस सेवा

Posted on: 09 Feb, 2019

माघ २६, पर्वत । पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले जिल्लामै पहिलोपटक बस सेवा शुरु गरेको छ । स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो । प्राविधिक शिक्षासमेत शुरु गरेको विद्यालयमा टाढाटाढादेखि विद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरिएको हो । बस सेवा शुरु गर्ने नवजागृत मावि पर्वतको पहिलो सामुदायिक विद्यालय हो । 

बस सेवा सञ्चालनका लागि गाउँपालिकाले रु २२ लाख २५ हजार सहयोग गरेको छ भने नपुग रु एक लाख ६३ हजार पनि उपलब्ध हुने अपेक्षा गरेको विद्यालयका प्रधानाध्यापक त्रिष्णुप्रसाद सुवेदीले बताउनुभयो । 

बस सेवा सञ्चालनपछि पर्वत र कास्की जिल्लाका विद्यार्थीलाई सुविधा पुगेको छ । नवजागृत माविमा पर्वतको मोदीगाउँपालिका, कुश्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट समेत विद्यार्थी आउने गर्दछन् । बस सेवा पुगेपछि एक घण्टा पदैल हिँड्ने र १५ किलोमिटर बसमा यात्रा गरेर समेत विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन् । यो विद्यालयमा अहिले ७०० भन्दा बढी बिद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पढाउने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!