सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल

Posted on: 10 Feb, 2019

माघ २७, हेटौँडा । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने धारणा राख्नुभएको छ ।

न्यूज क्लब हेटौँडाको आयोजनामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले कार्यदलको सुझाव र पृष्ठपोषणलाई पालना गरेको खण्डमा सरकारले उपलब्धि हात पार्ने बताउनुभयो । “पक्कै पनि सरकारका केही कमजोरी छन् तर ती कमजोरीलाई सुधारेर जानुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

नेकपा एकीकरणको सन्दर्भमा बोल्दै नेता नेपालले छिट्टै नै पार्टीको एकीकरण कार्य सकिने बताउनुभयो । नेपालले गोजीबाट निकालेको व्यक्तिले एकीकृत सङ्गठनको नेतृत्व नपाउने धारणा राख्नुभयो । दुवै पार्टीका वरिष्ठले प्राथमिकता पाउने र कनिष्ठले कम प्राथमिकता पाउने उहाँको भनाइ थियो । नेपालले अबको केही समयभित्र नेकपाको सबै तहमा एकीकरण हुने कुरामा ढुक्क हुन अनुरोध गर्नुभयो ।

सङ्गठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै तहको सङ्गठनलाई चुस्तदुरुस्त बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । तिनै तहको सरकारमा नेकपाको बहुमत रहेकाले जन चाहनाअनुसार काम गर्न जनप्रतिनिधिलाई अनुरोध गर्ने गरेको भन्दै नेता नेपालले जनता के चाहन्छन् त्यसको ख्याल गर्नुपर्ने बताउनुभयो ।

“जनता सार्वभौम सम्पन्न छन् उनीहरुको चाहना पूरा हुनुपर्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय नेकपाका नेताबीचमा खटपट आएको हो भन्ने प्रश्नमा नेता नेपालले केही समस्या भए पनि मिडियामा आएजस्तो गम्भीर मतभेद र समस्या नरहेको बताउनुभयो । “नेकपाभित्र समाधान गर्न नमिल्ने गरी केही पनि बिग्रेको छैन”, उहाँले भन्नुभयो ।(रासस) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!