ट्र्याक खुलेको बाह्र वर्षमा पनि सडक बनेन

Posted on: 11 Feb, 2019

माघ २८, जाजरकोट | जाजरकोटको खलङ्गा –पाँचकाटीया २३ किलोमिटर सडकको ट्र्याक (सडकमार्ग) खुलेको १२ वर्ष बित्यो । तर सम्बन्धित निकायले खलङ्गा –पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् । सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । 

कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भइ रहेको छ । हिउँदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सडकका कारण जनताले सास्ती खेप्नुपरेको छ । यो सडकमा मोटरसाइकलसमेत पार गर्न मुस्किल हुने गरेको कृषि प्राविधिक यज्ञबहादुर रोकायले बताउनुभयो । 

करोडौँ खर्च गरेर निर्माण गरेको उक्त सडकमा छ महीना पनि यातायात सञ्चालन हँुदैन । सडकको ट्र्याक खुलेकै वर्षौ बित्यो, तर स्थानीयवासीले यातायातको सुविधा पाउन सकेका छैनन् । सडक यातायात सञ्चालन नहुँदा दुर्गम गाउँमा खाद्यान्नका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको भेरी नगरपालिका–२ बाहुनथान स्थानीय व्यापारी टिकाराम खड्काले बताउनुभयो । 

डिभिजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नतितर्फ बेवास्ता गर्दा वर्षेनी स्थानीयवासीले सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो । दर्जनौँ स्थानमा घुम्ती तथा ग्रेडिङ नमिल्दा सडकमा यातायात सञ्चालन हुननसकेको हो । पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने स्थानीयवासीको माग छ । खलङ्गादेखि पाँचकाटीया, पंैक, ब्याउली ढुङ्गा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने सडक हो यो । 

सडक मर्मत गरेर यातायात सञ्चालन गर्न सडक डिभिजन र भेरी नगरपालिकाले बेवास्ता गर्दा बूढाबूढी, बिरामीलगायत सयौँ यात्रुलाई दैनिक सास्ती भएको पाँचकाटीयाका व्यापारी चक्रबहादुर थापाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!