महोत्तरीमा सुन चोरीको आरोपमा २ युवक जेल चलान

Posted on: 11 Feb, 2019

माघ २८, गौशाला | सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई जेल चलान गरेको छ । 

जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी सोही मुद्दामा जलेश्वर नगरपालिका–१ बस्ने २२ वर्षीय सन्तोषकुमार साहलाई रु एक लाख धरौटीमा छोडेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

श्रेष्ठ र अलीले जलेश्वर–२ बस्ने रसिना खातुन आफ्नो घरमा ताल्चा लगाई आफन्तको बिहेमा गएको मौका छोपी माघ १० गते राति सो घरको ताल्चा फुटाई सुन र चाँदीका गरगहना तथा नगद गरी रु दुई लाख ३२ हजार मूल्य बराबरको चोरी गरेका थिए । 

सुनको औँठी थान तीन, मङ्गलसूत्र थान एक र सुनको बल थान तीन जलेश्वर–१ अवस्थित सन्तोषकुमार साहको विष्णु ज्वेलर्समा बिक्री गरेको पाइएपछि प्रहरीले चोरीका गरगहना किनेको सन्तोषकुमार साहलाई पनि चोरीकै आरोपमा पक्राउ गरेको थियो । 

चोरी गरेको तथा चोरीका गरगहना किनेको कार्यमा संलग्न रहेका तीनमध्ये अदालतले श्रेष्ठ र अलीलाई पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाएको छ भने साहलाई धरौटीमा रिहा गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!