बझाङमा भाइरल ज्वरोका बिरामी बढे

Posted on: 11 Feb, 2019

सम्राट सिंह | माघ २८, बझाङ | मौसम परिवर्तनसँगै बझाङमा भाइरल ज्वरोका बिरामी बढेका छन । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको हो । 

भाइरल ज्वरोका बिरामी बढेपछि उपचारका लागि जिल्ला अस्पताल, स्वास्थ्य चौकी र निजी औषधि पसलहरुमा बिरामीको भिँड लागेको छ ।  साना बच्चा देखि बृद्घ सम्मलाई भाइरल ज्वरो देखिएपछि जनजिवन प्रभावित बनेको छ ।


टाउँको दुख्ने,ज्वरो आउने, हात खुट्टाका जोर्नीहरु दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखा परेको भाइरल ज्वरोका बिरामी प्रकाश सुवर्णकारले बताए  । भाइरल ज्वरोले आफ्नो सम्पूर्ण परिवार नै थला परेको उनको भनाई छ । 

शुरुमा गाउँमा ४÷५ जनालाई देखिएको भाइरल ज्वरो अहिले आएर जिल्ला भरी नै फैलिएको मष्टा गाउँपालिकाका घर भएका कलक सिंहले बताए । 

भाइरल ज्वरो जिल्लाभरी फैलिएपछि जिल्ला अस्पताल बझाङले जनचेतनाका लागि स्थानिय एफएमहरुमा शन्देशहरु प्रसारण समेत गरेको छ । 

जिल्लामा बच्चा देखि बृद्घ सम्मलाई भाइरल ज्वरोले थला पारेको हुँदा यस्तो समयमा जिल्लाका स्वास्थ्य कर्मीहरुले स्वास्थ्य संस्थामा नियमित रुपमा उपचारमा खटिनुपर्ने अवस्था आएको छ । विगत ३ बर्ष अगाडि बझाङमा फैलिएको भाइरल ज्वरोको कारण २ जनाको मृत्यु भएको थियो ।

जिल्लाकाअस्पताल, स्वास्थ्य चौकी,उपस्वास्थ्य चौकीगरी दैनिक झण्डै २ सय भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल बझाङका डाक्टर अनुप रेग्मीले बताए । भाइरल ज्वरोका बिरामी  दिन प्रतिदिन बढ्दै गइरहेका र स्वास्थ्यकर्मीहरु बिरामीको उपचारका लागि दिनरात खटि रहेका उनको भनाइ छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!