बाजुरामा पानीघट्ट लोप हुँदै

Posted on: 11 Feb, 2019

माघ २८, बाजुरा । पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् । 

गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको एक दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका करवीर नाथले बताउनुभयो । मिलमा पिसानी गर्दा कम समय लाग्ने भएपछि महत्व घट्दै गएको पानीघट्ट सञ्चालक नाथ बताउनुहुन्छ । नदी तथा खोला किनारमा हुने र गाउँबाट टाढा हुने, एक्लै गएर पिसानी गर्न पनि असुरक्षा हुने गरेका कारण मिलप्रति स्थानीयवासीको आकर्षण बढेको बडिमालिका नगरपालिका–२ का विक्रम गुयाले बताउनुभयो । 

मेशिनमा पिस्दा स्वाद हराउने हुँदा रोटी मीठो नहुने बुढापाका बताउँछन् । पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् । पानीघट्टको संरक्षण आवश्यक रहेको बडिमालिका नगरपालिका–२ घागरका पानीघट्ट सञ्चालक महावीर महतको भनाइ छ । मिल सञ्चालनसँगै सयौँको रोजगारीसमेत बन्द भएको छ । रोजीरोटी बन्द भएकोमा भन्दा प्रविधि हराउनेमा बढी चिन्ता लागेको महत बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!