जनप्रतिनिधिको उदाहरणीय काम: आफ्नै पारिश्रमिक शिक्षा क्षेत्रमा

Posted on: 13 Feb, 2019

फागुन १, गलकोट (रासस) | जननिर्वाचित प्रतिनिधिले पनि पारिश्रमिक पाउने व्यवस्थाको आलोचना भइरहेकै बेला यहाँका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्चन थाल्नुभएको छ । 

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो पारिश्रमिकवापतको रकम वडाको शिक्षा क्षेत्रको विकासका लागि खर्चने भन्दै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । 

खरेलले वडाध्यक्ष भएपछि सरकारबाट प्राप्त गरेको पारिश्रमिकवापतको रकमलाई विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग पुगोस् भन्दै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको बताउनुभयो । उहाँले ग्वालीचौरको भानु माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि रु दुई लाख ५१ हजार ५५५ को अक्षयकोष स्थापना गर्नुभएको हो । 

“सामाजिक क्षेत्रमा काम गने भएकाले पारिश्रमिकको अपेक्षा गरेको थिइनँ”, खरेलले भन्नुभयो, “आफूले कार्यकालभरि प्राप्त गरेको पारिश्रमिक विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि खर्चनेछु”, खरेल उक्त विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षकसमेत हुनुहुन्छ । 

पन्ध्र वर्ष अनुदान शिक्षकका रूपमा अध्यापन गराएको विद्यालयलाई जनप्रतिनिधिवापतको पारिश्रमिक खर्चन थालेको उहाँले बताउनुभयो । समाज सेवा गर्नेलाई पैसाभन्दा ठूलो मन चहिने भन्दै खरेलले आगामी दिनमा प्राप्त पारिश्रमिकले वडाकै अन्य विद्यालयमा अक्षयकोष स्थापना गर्ने तथा विपन्न परिवारको खरको छाना विस्थापित गर्ने लक्ष्य राख्नुभएको छ । 

वडाध्यक्ष भएपछि पूरै समय सामाजिक क्षेत्रमा बिताउनुभएका खरेलले श्रीमतीको शिक्षक पेशाबाट आएको रकमले घर खर्च चलाउँदै आउनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!