१२ हजार शाखा अधिकृतको समायोजन

Posted on: 18 Feb, 2019

फागुन ६, काठमाडौँ | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । 

सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ । 

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो । 

यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो । 

मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो । प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनीयर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ । 

सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!