होस्टलबाट छोराछोरीलाई लिएर फर्किएकी आमा मृत फेला, छोराछोरी अझै बेपत्ता

Posted on: 19 Feb, 2019

फागुन ७, सोलुखुम्बु । सोलुखुम्बुमा होस्टलबाट छोराछोरी लिएर फर्किएकी एक महिला मृत फेला परेकी छन्, भने छोराछोरी बेपत्ता भएका छन् । 

विद्यालयको होस्टेलमा बसेर पढ्दै आएका छोराछोरीलाई लिएर फर्केकी मिङमा याङजी शेर्पाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा सोमबार साँझ फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोमबार बिहान ७:३० बजे खुम्बु पासाङ ल्हामू गाउँपालिका–७, मा रहेको हिमालय आधारभूत विद्यालयको होस्टलमा बसेर पढ्दै आएका कक्षा ४ मा अध्ययनरत ११ वर्षीया छोरी ङिमा डोमा शेर्पा र ७ वर्षीय छोरा कुङ्गा दोर्जी शेर्पालाई ३६ वर्षीय आमा मिङ्मा याङजी शेर्पाले लिएर फर्किएकी थिइन् । 

होस्टलबाट फर्केका बालबालिका र आमा घर नफर्किएपछि खोजतलास गर्दा दूधकोशी नदीको किनारमा आमा मिङ्मा याङजी शेर्पाको शव फेलाको प्रहरीले जनाएको छ । 

नदीको किनारमा बच्चाको चप्पल र कपडासमेत फेला परेकाले खोजी कार्य जारी रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

नदीको आसपासमै बच्चाको कपडासमेत फेला परेकाले नदीमा खोजतलास भइरहेको प्रहरीले बताएको छ । मृतक मिङ्मा याङजी शेर्पा खुम्बु पासाङ ल्हामू गाउँपालिका–४, फोर्चेमा होटल सञ्चालन गर्दै आएको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतकको शव घटनास्थलमै राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!