ट्राफिक व्यवस्थापन गर्न समिति गठन

Posted on: 19 Feb, 2019

फागुन ७, काठमाडौँ । ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन, सडक बालबालिका तथा महिलाको समस्या समाधान र लागुऔषध एवं अपराध न्यूनीकरणका लागि समिति गठन गरेको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकामा आयोजित बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालको संयोजकत्वमा तथा महिला र बाल बालिकाको विषयमा महिला विकास अधिकृत महेश्वरी विष्टको संयोजकत्वमा समिति गठन गरिएको छ । यसैगरी लागुऔषध तथा अपराध नियन्त्रणका लागि दीपु जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ । 

बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले तीनवटै समितिले जनतामा प्रत्यक्ष प्रभाव पार्ने काम गर्नुपर्ने बताउनुभयो । सवारी चापको तुलनामा सडकको क्षमता नबढेकाले उहाँले ट्राफिक व्यवस्थापन ठूला शहरमा चुनौती बनेको हुँदा समाधानमा लाग्न सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । ‘‘एक–एक गर्दै समस्या सम्बोधन हुन्छ, धेरै एकैपटक गर्छु भन्दा एउटैमा पनि सफल हुन सकिदैंन, सडक र सवारी जामलगायत समस्या समाधानका लागि सरोकार भएका निकायसँग सहकार्य गरिनेछ, गठन भएका तीनै समितिलाई महानगरपालिकाले सक्दो सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । 

उपप्रमुख गीता सत्यालले महानगर महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्याप्रति संवेदनशील रहेको बताउनुभयो । सार्वजनिक यातायातमा महिला र ज्येष्ठ नागरिकले भोगेका समस्या समाधान गर्न ट्राफिक प्रहरीसँगको सहकार्यमा काम गर्ने उहाँको भनाइ थियो । बैठकका सहभागीले लागुऔषधको बिक्री वितरण र ओसारपसार रोक्न वडास्तरमा नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । आपराधिक गतिविधि हुने स्थानमा सिसी क्यामेरा जडान गर्नुपर्ने सहभागीको सल्लाह थियो । 

बैठकमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गत कात्तिकदेखि आयोजना गरिएका कार्यक्रमको जानकारी गराइएको थियो । यसअन्तर्गत सार्वजनिक सुनुवाइ, अभिमुखीकरण, विद्यालयस्तरमा प्रशिक्षण र चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!