कर्णाली प्रदेशका तीन पत्रकार पुरस्कृत

Posted on: 20 Feb, 2019

फागुन ८, सुर्खेत । राष्ट्रिय समाचार समितिको ५८औं स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशका तीन जना राससकर्मीहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा सुर्खेतबाट दिपेन्द्र शर्मा, हुम्लाबाट दाने बाहोरा र जुम्लाबाट उपेन्द्र न्यौपाने छन् ।

पुरस्कृत स्थानीय समाचारदाताहरुलाई कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जनही रु.पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।  उत्कृष्ट समाचार लेखनतर्फ शर्मा, उत्कृष्ट फोटोतर्फ बोहोरा र उत्कृष्ट आलेख लेखनतर्फ न्यौपाने पुरस्कृत भएका हुन् ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले राष्ट्रिय समाचार समितिले समयानुकूल गतिशील हुनपर्ने सुझाव दिए । ‘मुलुकको संघीयतामा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले विज्ञान र प्र्रविधिको संसारमा नेपालको रासस अब पहिलो मात्र होइन, प्रथम र द्रुत बन्न सुझाए । ‘समयानुकूल आफूलाई बदल्न सक्नेहरु मात्र आफ्नो अस्थित्व कायम गर्छन् । त्यसैले राससले आफूलाई समायानुकुल परिवर्तन र पुनःसंरचना गर्नुपर्दछ’ भण्डारीले भने । सरकारको आधिकारीक मिडियाको रुपमा स्थापित राससले रचनात्मक ढंगले समाचार प्रस्तुत गरेर नागरिकलाई सचेत बनाउँदै आएको मन्त्री भण्डारीले टिप्पणी गरे । ‘कर्णाली सरकार मिडियामैत्री रहेको छ’ उनले भने, ‘यसको लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रक्रमहरु अघि बढाएका छौ ।’

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. दिपेन्द्र रोकायले कर्णाली प्रदेशका ८९ वटै स्थानीय तहबाट काम गर्ने गरि रासस अघि बढ्न सुझाव दिए । रोकायले इतिहासदेखि नै राससको भूमिका महत्वपूर्ण रहेको औल्याए । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले संघीयतालाई बलियो बनाउन राससको भूमिका महत्वपूर्ण हुने बताए । कर्णाली प्रदेशमा राससको आफ्नै भवनबाट काम गर्ने गरी रासस अघि बढ्नुपर्ने उनले सुझाव दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मोहन आचार्य, नेकपाका प्रतिनिधि डण्डीप्रसाद शर्मा, नेपाली काँग्रेसका पार्टी प्रतिनिधि अनन्त पौडेल, राप्रपाका प्रतिनिधि सन्तोषी सिंहलगायतले धारणा राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!