डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै

Posted on: 20 Feb, 2019

फागुन ८, डोटी । चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ । 

नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात महीनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ । 

आव २०७५÷०७६ को साउनदेखि माघसम्म ३६२ महिलाले उक्त सेवा लिएका छन् । सोमध्ये २० वर्षभन्दा कम उमेर समूहका ४७ र त्योभन्दा माथिका ३१५ रहेका छन् । जिल्ला अस्पातलका अनुसार गत आवमा भन्दा चालू आवमा उक्त सङ्ख्यामा तुलनात्मक रुपले वृद्धि भएको छ । 

विगतमा सुरक्षित गर्भपतन सेवा आधिकारिक तथा निःशुल्क नभएकाले स्वास्थ्य कार्यालयमा जम्मा सङ्ख्या रेकर्ड नभएको अस्पतालका नर्स गौरी शाहीले बताउनुभयो । यहाँ हाल जिल्ला अस्पतालसहित विभिन्न निजी अस्पतालसहित १७ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ । 

सवारीसाधन सञ्चालनमा समस्या 

जिल्लाका ग्रामीण क्षेत्रमा परेको लगातारको वर्षाले गाउँका कच्ची सडकमा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । वर्षात्ले सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा समस्या हुन थालेको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायलका कार्यालय प्रमुख हर्क महराले जानकारी दिनुभयो । जिल्लाको वाइल, बोगटान, मौवा–मेल्लेक, बुडर–जोरायल, मुडभारा, नारीदाङलगायतका सडकमा सवारीसाधन चलाउन निकै समस्या हुने गरेको जिप चालक मदन कामीले बताउनुभयो । 

केही दिन यतादेखि जिल्लाभरिमा फेरि वर्षा भएपछि गाउँका सडक अवरुद्ध हुन थालेका छन् । वर्षात्ले गाउँका सडक हिलाम्मे तथा चिप्लो भएका कारण गाउँमा गाडी जान बन्द हुन थालेपछि यहाँका स्थानीयलाई जिल्ला सदरमुकाम आवतजावत गर्नमा समस्या हुन थालेको बोगटान गाउँपालिका–२ का बासिन्दा महेन्द्र बमले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!