चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्

Posted on: 22 Feb, 2019

फागुन १०, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । 

अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोज महीनादेखिको तलब नपाएको गुनासो गरेका हुन् । तीन स्वास्थ्यकर्मी सरकारले काजमा खटाएको स्थायी दरबन्दीका हुन् । चार महीनादेखि तलब नपाउँदा समस्या भएकोे प्रशासन शाखामा कार्यरत नायव सुब्बा पूजा कार्कीले बताउनुभयो । 

सिन्धुली घर भई उपचार केन्द्रमा कार्यरत उहाँले मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।” उहाँका अनुसार करारका कर्मचारीको म्याद थप नहँुदा अन्योलको स्थिति सिर्जना भएको छ । 

उपचार केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठले सरकारले बजेट विनियोजन नगर्दा तलब खुवाउन नसकिएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा सरकारले अस्पतालका लागि अत्यन्तै न्यून बजेट पठाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले अस्पतालमा कार्यरत कर्मचारीको तलबभत्ता र प्रशासनिक खर्चमा रु २० लाख पठाएको थियो । तर एक महीनामा तलबभत्तामा रु १५ लाख खर्च हुन्छ ।” 

उहाँका अनुसार सरकारले पठाएको रकमले एक महीनाको तलब खुवाउन पुगेको छ । उहाँले सरकारले पठाएको रकमबाट साउन महीनाको तलब दिएर रु पाँच लाख बचेको र अस्पतालको आन्तरिक रकम थप गरेर भदौ र असोज महीनाको तलबभत्ता भुक्तान गरिएको बताउनुभयो । 

विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । 

सरकारको निर्णयअनुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी श्वासप्रश्वास उपचार केन्द्र सञ्चालन गरिएको हो । लामो समयदेखि सञ्चालन भएको अस्पतालमा छुट्टै श्वासप्रश्वास उपचार केन्द्र स्थापना हुनसकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!