उमरी गाउँ अब 'एकता स्मार्ट कृषि गाउँ'

Posted on: 23 Feb, 2019

माधव बेल्वासे । फागुन १०, कपिलवस्तु । तरकारी खेतीमा पहिचान बनाएको कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी गाउँमा तरकारी खेती र बाख्रा पालनमा स्मार्ट कृषि गाउँ बनाउने निर्णय भएको छ । प्रदेश ५ का १२ जिल्लाका ५२ निर्वाचन क्षेत्रमा एक र एक स्मार्ट कृषि गाउँ बनाउने योजना अन्तर्गत उमरीमा स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु गरिएको हो ।


पहिलो चरणमा स्थानीयसँग वृहत छलफलबाट समिति गठन र स्मार्ट कृषि गाउँको लागि व्यवसाय छनौट गरिएको छ । प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र कपिलवस्तुको प्राविधिक सहयोगमा कार्यक्रम अघि बढाइएको हो ।

प्रदेश सांसद अर्जुन कुमार के.सी.ले कृषिमा नयाँ परिवर्तन सहित उदाहरणीय गाउँको रुपमा पहिचान बनाउन सक्रियताका साथ लाग्न स्थानियहरुलाई आग्रह गरे । आफुले गर्न सक्ने र आर्थिक अवस्था बलियो हुने खालको ब्यावसाय रोज्नुपर्ने सासद केसीले वताए ।“यस ठाउँको माटो सुहाउँदो, भुगोल सुहाउँदो व्यवसाय छनौट गर्नुस”सांसद केसीले उनले भने । कृषि ज्ञानकेन्द्र कपिलवस्तुका बाली विकास प्रमुख सहसराज चौधरीले व्यवसाय संचालन गरी जिल्लामै नमूना स्मार्ट गाउँ बनाउन कृषि ज्ञान केन्द्रबाट हुनसक्ने सहयोग पु¥याउने जनाए ।

राधेश्याम चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्य सचिवमा निशा थारु चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा हर्जी थारु, लहानु थारु, राजु घर्ती, खुशीराम थारु र पटेश्वरी थारु चयन भएका छन् । भेलाबाट समितिको नाम समेत छनौट गरिएको छ । सबैको सहमति अनुसार समितिको नाम “एकता  स्मार्ट कृषि गाउँ” नामाकरण गरिएको छ । 

कृषकले गर्ने खेती प्रणाली देखि लिएर, किसानको उत्पादन, बजारीकरण सम्मको कार्य पुरा गर्ने गरी स्मार्ट कृषि गाउँलाई अगाडि बढाइएको हो । स्मार्ट कृषि गाउँ अन्तर्गत जलवायु, सिंचाई, पोषकतत्व, प्राविधिक र बजारीकरण स्मार्ट हुनुपर्ने हुन्छ । स्मार्ट कृषि गाउँको लागि प्रदेश सरकारको भूमि तथा कृषि मन्त्रालयले ५० लाख बजेट विनियोजन गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!