कपिलवस्तुमा गोली हानी एक महिलाको हत्या

Posted on: 23 Feb, 2019

फागुन ११, जितपुर । कपिलवस्तुको वाणगङ्गामा गए राति एक महिलाको हत्या गरिएको छ । वाणगङ्गा नगरपालिका–४ बस्दै आउनुभएका ३२ वर्षीया अनिता पौडेलको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृतक पौडेलको शरीरको निधार र विभिन्न भागमा चोेट देखिएकाले उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो भन्ने कुरा शव परीक्षण रिपोर्टपछि जानकारी प्राप्त हुने बताउनुभयो ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने बताएका छन् । जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने बताइएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान जारी राखेको छ ।

शवलाई कपिलवस्तु सामुदायिक अस्पताल लगिएको र परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । घटनाको बारेमा बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, वाणगङ्गा नगरका उपप्रमुख स्थानीय सामुदायिक अस्पताल पुग्नुभएको थियो । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्र केसीले घटनाको सुक्ष्मरूपमा अध्ययन भइरहेको र चाँडोभन्दा चाँडो हत्याराको पहिचान हुने बताउनुभयो ।

एनसेनको टावरमा आगजनी

जिल्लाको वाणगङ्गा नगरपालिका–११ मईनारामा रहेको एनसेल कम्पनीको टावरमा आगजनी भएको छ । गए राति करीब १० बजेको समयमा भएको घटनापछि प्रहरीले दमकल लगेर आगो निभाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विप्लव समूहले अन्य जिल्लामा टावर जलाउने क्रममा वडा नम्बर ११ मा पनि क्षति भएकाले सोही समूहले नै गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेका छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!