मार्तडी–कोल्टी सडक अवरुद्ध

Posted on: 23 Feb, 2019

फागुन ११, बाजुरा | लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवतजावतमा समेत निकै समस्या भएको छ । गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपातले मार्तडीदेखि पूर्वीउत्तर क्षेत्रका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगुका केही स्थानीय तहका जनतालाई समेत समस्या भएको र दैनिक उपभोग्य वस्तुको समेत अभाव हुन थालेको कोल्टीका व्यापारी ब्रतराज उपाध्यायले जानकारी दिनुभयो । 

बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिको बीचमा पर्ने पोरखेलेकमा बारम्बार हिउँ जमेपछि सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनुभयो । लगातार हिमपात र वर्षाकै कारण मार्तडी–घटमुना सडक पनि फाटफुटबाहेक नियमित यातायात सञ्चालन हुनसकेको छैन । लगातार पानी परेकाले कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कायालयले जनाएको छ । 

माघयता पटक–पटक गरेर सात पटक बढी हिमपात र वर्षा भइसकेको छ । लगातारको हिमपात र वर्षाका कारण जिल्लाको जनजीवन पनि अस्तव्यस्त बनेको छ । हिमपातका कारण बिरामी भएका व्यक्तिलाई सदरमुकाम मार्तडीसम्म ल्याउन सकस भएको छ । एक ठाउँबाट अर्को ठाउँमा जानसमेत नसकेको मार्तडीमा व्यापारी बलवीर गुरुङले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!