बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर

Posted on: 26 Feb, 2019

फागुन १४, मार्तडी | बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको छ । माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ । 

गत माघ पहिलो साताबाट जिल्लाका हिमाली क्षेत्रमा हिमपात भएको थियो । लगातार वर्षाका कारण यहाँका ग्रामीण सडक आंशिक रुपमा बन्द भएका छन् । हिमपात र अत्यधिक वर्षाले ग्रामीण सडक अवरुद्ध भएपछि छोटो दूरीका सवारीसाधन चल्न छाडेको जयमालिका यातायात प्रालिका उपाध्यक्ष पृथ्वी रावलले बताउनुभयो । यातायात बन्द हँुदा कामका लागि सदरमुकाम आवतजावत गर्ने स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । 

लगातारको वर्षा र पटकपटकको हिमपातका कारण वृद्धवृद्धा, बालबालिका र विरामीलाई समस्या भएको छ । उत्तरी क्षेत्रको कोल्टीस्थित कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पतालका लागि सिफारिश गरिएका बिरामीलाई आवतजातवत गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । 

वर्षाका कारण आंशिकरूपमा यातायातका साधन बन्द भएपछि ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताउनुभयो । मार्तडी–कोल्टी सडक खण्डको पोरखे लेकमा ४ देखी ५ फिट हिउँ जमेको छ । माघ पहिलो सातादेखि नै उत्तरी भेगको यातायात पुर्ण रुपमा बन्द भएको छ । 

जिल्लामा लगातार हिमपात हुँदा हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बनेको छ । चिसोका कारण विद्यार्थी विद्यालय आउन छाडेको बूढीनन्दा नगरपालिकास्थित कालिका प्राथमिक विद्यालयका प्रधानाध्यापक नन्दुबहादुर रौलेले बताउनुभयो । विद्यार्थी नियमित आउन छाडेका छन् । विद्यालय बन्द गर्नु परेको उहाँले बताउनुभयो । चिसोका कारण विद्यार्थी बिरामी हुने सम्भावना बढेको रौलेको भनाइ छ । बडिमालिका, बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नथ, गौमुल, खप्तड छेडेदह गाउँपालिकको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्था हिमपातका कारण प्रभावित छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!