सङ्घीय संसद् भवनमा सुविधा सम्पन्न चमेनागृह, कति लग्यो खर्च ? हेर्नुहोस्

Posted on: 26 Feb, 2019

फागुन १४, काठमाडौँ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा सुविधा सम्पन्न चमेनागृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालयले छ महीनामा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । हाल यो भवन सङ्घीय संसद् सचिवालयलाई भाडामा दिइएको छ । 

करीब ९८३ वर्गमिटर क्षेत्रफल ओगट्ने चमेनागृहमा १८६ क्षमताको ‘डायनिङ हल’समेत निर्माण हुनेछ । मुस्लिम समुदायका लागि हलाल खानाको व्यवस्था भान्छाघरमा हुने प्रबन्ध मिलाइएको कार्यक्रममा जानकारी गराइयो । रु दुई करोड ७८ लाख लागतमा निर्माण हुन लागेको चमेनागृहको शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास गर्नुभयो । उहाँले तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

छ महीनामा निर्माण सम्पन्न नभए निर्माण कम्पनी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कर्मचारीलाई कारवाही गर्ने मन्त्री राईको चेतावनी थियो । समयमै काम सक्नेलाई पुरस्कृत गरिने र काममा ढिलाइ गर्नेलाई कडा कारवाही गर्ने नीति सरकारले लिएको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले चेमनागृहलाई अपाङ्गमैत्री बनाउन आग्रह गर्दै प्राविधिक सहयोग आवश्यकता परे मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले छ महीनामा चमेनागृह निर्माण सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गर्दै निर्माणका क्रममा संरचनाको र सम्पन्न भएपछि खानाको गुणस्तरमा कमी आउन नदिने प्रतिबद्धता जनाउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!