सुनकोटको लेकसम्म पुग्न तीन किलोमिटर सिँढी बन्दै

Posted on: 26 Feb, 2019

रीता लामा | फागुन १४, घोराही | ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पाण्डवेश्वर महादेव मन्दिरबाट सुनकोटको लेक पुग्ने सिँढी बनाइने भएको छ । 

धार्मिक एवं प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण रहेको सुनकोटको लेक(डाँडा) पुग्नका लागि पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले पाण्डवेश्वर धाम र सुनकोटको लेकलाई सिँढीमार्फत जोड्ने योजना ल्याएको हो । 

समितिले उक्त विषयलाई विशेष प्राथमिकतामा राखेर काम थालिएको छ । घोराही उपमहानगरपालिका–५ स्थित उक्त लेक पुग्नका लागि चार हजार ९६३ सिँढी बनाउने निर्णय भएको पाण्डवेश्वर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सिँढीका लागि अध्ययन गर्दा धारापानीबाट सुनकोटको लेकसम्म पुग्न करीब पाँच हजार सिँढी बनाउनुपर्ने एउटा अध्ययनले देखाएको छ । 

अध्यक्ष अधिकारीका अनुसार सुनकोटसम्म पुग्नका लागि सबै सिढीँ भक्तजनको दानबाट निर्माण गरिने छ । सुनकोटको भगवती मन्दिरसम्म पुग्नका लागि नापजाँचको सबै काम पूरा भएको र ५०० भक्तजनले सिँढी निर्माणका लागि समितिमा नामसमेत दर्ता गराइसकेका छन् भने प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले २४ वटा सिँढी बनाउने घोषणा गर्नुभएको छ । 

समितिका कोषाध्यक्ष विष्णुराम आचार्यका अनुसार एउटा सिँढी रु २४ हजार ५५ को लागतमा निर्माण सम्पनन हुने इञ्जिनीयरले जानकारी गराएका छन् । सोहीअनुसार भक्तजनसँग रकम जम्मा गर्ने काम भइरहको छ । यस आधारमा रु ११ करोड ९३ लाख ८४ हजार ९६५ को लागतमा सम्पूर्ण सिँढी निर्माण हुने समितिले जनाएको छ । यी सबै रकम भक्तजनसँग उठाइने छ । प्रत्येक भक्तजनलाई एउटा मात्र सिँढी निर्माणको काम दिइने छ । सिँढी निर्माणमा सहयोग गर्ने भक्तजनले आफू र आफ्नो आफन्तको नाम त्यसमा लेख्न पाउने व्यवस्था छ । 

विश्वकै अग्लो त्रिशूल हेर्नेको घुइँचो 

घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर धाम दाङको निकै चर्चित धार्मिकस्थल हो । उक्त स्थानमा विश्वकै अग्लो त्रिशूल निर्माण गरेपछि पछिल्लो समय यसको अवलोकन गर्नेको भीड यहाँ लाग्ने गरेको छ । त्यस क्षेत्रको व्यवस्थित विकासका लागि त्यहाँ तीव्ररुपमा पूर्वाधार निर्माणको काम पनि भइरहेको समतिले जनाएको छ । 

मन्दिरलाई आकर्षक बनाउने भन्दै समितिले मन्दिर नजिकै विश्वकै अग्लो त्रिशूल निर्माण गरेको हो । सोही त्रिशूल हेर्नेको घुइँचो दिनानुदिन बढ्दो छ । उक्त त्रिशूल हेर्न जिल्ला र अन्य छमेकी जिल्ला मात्र नभई नेपाल तथा भारतका तीर्थयात्रु यहाँ आउने गर्छन् । विभिन्न स्थानबाट पाण्डवेश्र मन्दिर हँुदै स्वर्गद्वारी पुग्नेको भीड पनि उस्तै देखिन्छ । 

समितिका अनुसार त्रिशूल हेर्नकै लागि सरदर दैनिक एक हजार आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन् । शिवरात्रिको दिन विशेष मेला लाग्ने पाण्डवेश्वर धाममा हिजोआज दर्शकको बाक्लै उपस्थिति देखिन्छ । मन्दिर नजिक ठूलो त्रिशूल बनेपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको अध्यक्ष अधिकारीले बताउनुभयो । पूजा गर्नेभन्दा पनि त्रिशूल नजिक फोटो खिच्ने र रमाउनेको सङ्ख्या धेरै छ । 

पञ्च धातुबाट निर्मित 

विश्वकै अग्लो मानिएको त्रिशूल पञ्चधातुले निर्माण गरिएको छ । त्रिशूलको उचाइ ५५ दशमलव ५ मिटर अग्लो छ भने गोलाइ ४४४ इञ्च छ । त्रिशूल तीन भागमा विभाजित छ । त्रिशूलको बाहिरी भाग तामा, भित्र भाग फलाम, टाउकाको तीन वटा चुच्चो पित्तल र त्रिशूलमा राखिएको बञ्चरो काँसको छ भने थोरै मात्रामा चाँदी पनि मिसाइएको छ । 

सात हजार ७१८ किलो फलाम, २२६ दशमलव ३६ किलो तामा, १० किलो कांस र २५५ किलो पित्तल मिसाइएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार त्रिशूलको जग निर्माणका लागि मात्रै पाँच हजार २५० किलो फलाम प्रयोग भएको छ । उक्त त्रिशूल २०७१ फागुनमा बुटवलको एक फलाम उद्योगबाट बनाएर दाङ ल्याइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!