उपत्यकामा १२ वर्षपछि हिमपात

Posted on: 28 Feb, 2019

फागुन १६, भक्तपुर | भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ । 

भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ । हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हुदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिनुभयो । 

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको र दिनभर पर्यटकको ओइरो लाग्ने अपेक्षा गरिएको होटल व्यवसायी गोकुल लामिछानेले बताउनुभयो । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् । बाह्र वर्षअघि दिउँसो हिमपात भएको थियो भने आज बिहानै हिमपात भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!