किन बढ्दैछ भूकम्पको पराकम्प ? यसो भन्छन् विज्ञ !

Posted on: 01 Mar, 2019

फागुन १७, काठमाडौँ ।  पछिल्लो समय भूकम्पको पराकम्प बढेको छ । गत दुई महिनाको अवधिमा मात्रै काठमाडौँ लगायत आसपासका जिल्लाहरूमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलमाथिका भूकम्पका ६ वटा पराकम्प गएका छन् । 

पछिल्लो समय दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फागुन १४ गते १०:३० बजे दोलखा केन्द्रबिन्दू त्यसको पाँच मिनेट पछि सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको पराकम्प गएको थियो । 

भूकम्पमापन केन्द्रका अनुसार दोलखामा ४.४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो  ।

यस्तै फागुन ४ गते काठमाडौं केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । यता, फागुन २ गते ताप्लेजुङ केन्द्रविन्दू बनाएर ४.६ रेक्टर भूकम्प गएको थियो ।

भोजपुरसहितका पहाडी जिल्लामा माघ ८ गते भूकम्पको धक्का महसुस भएको थियो । विहान ४ बजेर ४५ मिनेटमा भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

उक्त भूकम्पको धक्का छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटामासमेत महसुस भएको थियो ।

पुष २७ गते रामेछाप केन्द्रबिन्दु भएर बिहान ५ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार सबै पराकम्प २०७२ साल वैशाख १२ गतेकै गएको शक्तिशाली गोरखा भूकम्पका हुन् ।

पछिल्लो समय निरन्तर गइरहेको पराकम्पबारे भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले त्यस्तो आतिनुपर्ने कुनै कारण नरहेको बताए ।

पृथ्वीको भित्रिभाग सबै ठाउँमा एउटै खालको नभएको भन्दै बेलाबेला आउने पराकम्पबाट ठूलो भूकम्पको असर बाँकी नै रहेको बुझिने उनले बताए ।

२०७२ सालमा पनि कुनै दिनमा दुई तीन पटक पराकम्प आउने गरेको बताउँदै निरन्तर पराकम्प आउँदैमा आत्तिनु पर्ने नदेखिएको उनको भनाई छ ।

‘केही समय पहिले ४.५ रेक्टरको एउटा पराकम्प अएको थियो । त्यस यता सानातिना पराकम्प आइरहका छन् । यी सबै त्यसैको कारण हो । यसबाट आत्तिनु पर्ने देखिँदैन । अहिलेबाट ठूलो खतरा निम्त्यिाउछ कि भनेर सोच्नु पर्ने अवस्था छैन । खाली त्यही भूकम्पको धङधगी बाँकी रहेको देखिन्छ । यसबाट कति पनि आत्तिनु पर्दैन,’ अधिकारीको भनाई छ । यद्यपि सानो पराकम्प आउँदैमा ठूलो भूकम्प आउँदैन भनेर पनि भन्न नसकिने उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!