कर्णालीमा स्वास्थ्य बीमा कार्यक्रम: एक लाख नागरिक विमित, ३५ हजारले लिए सेवा

Posted on: 01 Mar, 2019

फागुन १७, सुर्खेत । सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत कर्णालीमा एक लाख नागरिकहरुले स्वास्थ्य बीमा गरेका छन् । कार्यक्रम लागु भएको १९ महिनामा कर्णालीका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० जनाले स्वास्थ्य बीमा गरेका हुन् ।


नागरिकहरुको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याउन स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने सरकारको उदेश्य छ । आर्थिक वर्ष ०७२÷०७३ बाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो । तर कर्णालीमा भने आर्थिक वर्ष २०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरिएको थियो । कर्णालीका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम र कालीकोटमा कार्यक्रम लागु गरिएको छ । कार्यक्रम लागु भएदेखी हालसम्म ३५ हजार ५१९ जनाले सेवा लिएको स्वास्थ्य बीमा वोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले जानकारी दिए । विमित गरेका नागरिकहरुलाई सेवा दिए वापत सेवाप्रदायकलाई ४ करोड ४० लाख ५६ हजार ७३८ रुपैयाँ भुक्तानी गरेको पण्डितले उल्लेख गरे । पाँच जिल्लाका विभिन्न स्थानका २० स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बीमा गरेका नागरिकहरुलाई सेवा प्रदान गर्दै आएका छन् । 

झण्डै १ लाख विमित नागरिकबाट ४ करोड ७८ लाख ६६ हजार ३२० रुपैयाँ संकलित योगदान रकम रहेको पण्डितको भनाई छ । उनका अनुसार विमित भएका मध्य अति गरिवी परिवार संख्या २५ हजार ५५४ जना छन् । अति गरिव विमितको रकम सरकारले तिर्न भने ३ करोड २३ लाख २७ हजार २३५ रुपैयाँ रहेको पण्डितको भनाई छ । ‘चालु आर्थिक वर्षमै हुम्ला, डोल्पा, मुगु र दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने तयारीमा छौं’ पण्डितले भने । कार्यक्रम लागु भएका जिल्लाहरुमा अनुगमन कार्यलाई तिव्रता दिएको पण्डित बताउँछन् । ‘कतिपय जिल्लामा सेवा प्रदायक संस्थाहरु न्युन छन्’ पण्डितले थपे, ‘ति स्वास्थ्य संस्थामा विशेषज्ञ सेवाहरु दिन कठिनाई भइरहेको छ ।’ प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउन स्वास्थ्य बीमा कार्यक्रम बारे शुक्रबार जानकारी गराइएको छ । स्वास्थ्य बीमाको प्रचार प्रसारको अभावले कयौं नागरिक स्वास्थ्य बीमा कार्यक्रमबारे वेखवर रहेको कर्णाली प्रदेश सभाका सांसद यज्ञबहादुर विसीले बताए । स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गका लागि उपयोगी भएकाले यसलाई प्रभावकारी बनाउँन सबै गम्भीर हुन आवश्यक रहेको विसीले सुझाए । तर सांसद पद्मा खड्काले स्वास्थ्य बीमा गरेका नागरिकहरुलाई अस्पतालहरुले प्रभावकारी व्यवहार नगर्ने गरेको बताईन् । ‘बीमा गरेका नागरिकहरुलाई विभेद गर्दै आएको पाएको छु’ खड्काले भनिन्, ‘बीमा गरेका नागरिकहरुले प्रभावकारी रुपमा उपचार गरे नगरे बारे कार्यालयले छड्के अनुगमन गर्न जरुरी छ ।’ स्वास्थ्य कार्यक्रम प्रभावकारी भएकाले जनताहरुलाई व्यापक रुपमा जानकारी दिन आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता उनको थियो । 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार गम्भीर भएर लाग्ने बताए । ‘सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै नागरिकहरुलाई विमित हुन कार्यक्रम नै लागु गर्ने उनले उल्लेख गरे । प्रदेश सभाका सांसदहरुसंगको अन्तरक्रियामा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, उप–सभामुख पुष्पा घर्ती विष्ट, प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल लगायतको सहभागीता थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!