बाजुरामा आमाबुबाको मृत्युपछि दुई बालिका विचल्लीमा

Posted on: 05 Mar, 2019

फागुन २१, बाजुरा | जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा दुई बहिनी विचल्लीमा परेकी छन् । बुबाआमाको मृत्युपछि पाँच वर्षीया बीपना दमाई र सात वर्षीया ज्योति दमाईं विचल्लीमा परेको स्थानीय नरेन्द्र नाथले बताउनुभयो । 

आमा मोतीकला दमाईंको चार वर्ष पहिले सुत्केरीको बेलामा मृत्यु भएको र बुबा लाल दमाईंको दुई महीना पहिला क्षयरोगका कारणले मृत्यु भएपछि दुई बहिनी विचल्लीमा परेको नाथले जानकारी दिनुभयो । 

विचल्लीमा परेका दुबै ७० वर्षीय औला दमाईं बज्यैको साहरामा बस्दै आएकी छिन् । आमा र बुबा दुवै नभएका यी बहिनी विद्यालयसमेत जाँदैनन्, दुवैको उमेर विद्यालय जानेभन्दा बढी भइसक्दासम्म पनि आर्थिक अवस्था कमजोर भएकाले विद्यालय जान नसकेको औला दमाईंले बताउनुभयो । 

सात वर्षीया ज्योतिले भनिन्, “आमाको मृत्युपछि बुबा पनि बिरामी हुनुभयो, बिरामी भए पनि केही आशा त हुन्थ्यो, तर बुबानै मृत्यु भएपछि बेसाहारा बनेका हौँ । आफू अरुका बाख्रा हेरेर छाक टार्ने गरेको छौँ, बहिनीलाई बज्यैले मागेर पाल्ने गरेको छ ।” 

अरुका लुगाकपडामा मागेर लाउने गरेका छौँ, कुनै दिन त खाना नपाएर भोकै बस्ने गरेको उनले दुखेसो गरिन् । विद्यालय जाने रहर त थियो तर कापी, कलम र लुगा किन्ने पैसा नभए कारण विद्यालय जान नसकेको सात वार्षीया दमाईंको भनाइ छ । 

बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले विचल्लीमा रहेका ती दुई बहिनीको अवस्थाका बारेमा सोमबार स्थलगत अनुगमन गरेर जानकारी लिनुभएको छ । ती दुई बहिनीको तत्काल उद्धार र संरक्षणका लागि पहल गर्ने उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!