सरकारी साधन दुरुपयोग गर्ने यि कार्यालय, के हुन्छ कारवाही ?

Posted on: 05 Mar, 2019

चिसाङ शेर्पा | फागुन २१, खोटाङ | खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्ने चार कार्यालयको पहिचान भएको छ । 

सार्वजनिक विदामा दुरुपयोग भएका सातवटा सरकारी साधनमध्ये चारवटा साधन कुन कार्यालयको भन्ने पहिचान भएको हो । ति कार्यालयका सरकारी कर्मचारीले विदाका दिन सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नजिक मुढेमा हिउँ खेल्न लगेका थिए ।

गत फागुन १६ गते सार्वजनिक विदामा सिंचाई विकास डिभिजन दिक्तेलको बा १ झ ५२७१ नम्बरको गाडी, जिल्ला मालपोत कार्यालयको बा २ झ १३४८ नम्बरको गाडी तथा जिल्ला प्रशासन कार्यालयको बा १ ब १४४ र जिल्ला निर्वाचन कार्यालयको बा २ ब ९२४ नम्बरको मोटरबाईक दुरुपयोग भएको सहायक प्रमुख जिल्ला अधिकारी विवेक विडारीले बताउनुभयो । को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईकको भने, पहिचान हुन बाँकी छ ।  

दुरुपयोग भएका अन्य सवारी साधनको छिटोभन्दा छिटो पहिचान गरेर सम्बन्धित कार्यालयलाई लिखित स्पष्टीकरण माग गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । सबै सवारी साधनको रेर्कड प्रशासनमा नभएकाले पहिचान गर्न ढिलाई भएको उहाँले स्वीकार्नु भयो । कार्यालयको कामको सन्दर्भमा उहाँहरु जाँदा अन द रुट परेको अथवा बिशुद्ध विदाको दिनमा आफ्नो निजि प्रयोगका लागि सवारी साधन प्रयोग भएको हो । प्रजिअ पौडेलले भन्नुभयो, ‘त्यो चाँही कार्यालयको जवाफ नआएसम्म केही भन्न सकिन्न ।’ यद्यपी, मनोरञ्जनकै लागि सवारी साधनको प्रयोग भएको प्रष्ट छ ।

सरकारी सवारी साधनको दुरुपयोग भएको व्यापक चर्चासँगै बल्ल जिल्ला प्रशासन कार्यालयले सबै कार्यालय र १० स्थानीय तहलाई लिखित रुपमै आफ्नो कार्यालयमा भएका सरकारी गाडी तथा मोटरबाईकको विवरण माग गर्ने जनाएको छ । यसअघि पनि कर्मचारी र जनप्रतिनिधिबाट पटक–पटक सरकारी साधनको दुरुपयोग हुंदै आएको छ । सार्वजनिक विदामा सरकारी साधनको दुरुपयोग गर्दै उनीहरुले आफ्ना छिमेकी, पारिवारीक सदस्य, गलफ्रेण्ड, कार्यकर्ता बोक्ने गरेको पाइएको छ ।


माथिको तस्विरमा: दुरुपयोग भएका सरकारी साधनहरु

यस बिषयमा तपाइको प्रतिक्रिया...!