अक्षयकोषका लागि पाँच लाख सहयोग

Posted on: 06 Mar, 2019

ध्रुबसागर शर्मा | फागुन २२, गलेश्वर (रासस) | म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि एक व्यक्तिले रु पाँच लाख सहयोग गर्नुभएको छ । 

विपन्न म्याग्देलीको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका बरङ्जा घर भई हाल हङकङमा बस्दै आउनुभएका हर्कमान घर्तीले कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनमगरलाई उक्त सहयोग गर्नुभएको हो । कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र अर्थाभावका कारण औषधि उपचारबाट बञ्चित १०१ म्याग्देलीलाई रु एक करोड ८२ लाख सहयोग जुटाएको छ । ओमकुमारी शान्तिकोष चार वर्षअघि स्थापना भएको हो । 

कोषले मुटु, मिर्गौला, क्यान्सरलगायत जटिल रोगबाट थलिएका म्याग्देलीलाई सघाउन रु एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग सङ्कलन अभियान सञ्चालन गर्दै आएको छ । कोषको ब्याजबाट बिरामीको उपचारमा सहयोग गर्ने संस्थाको योजना छ । 

क्यान्सरपीडित रोकालाई साढे दुई लाख सहयोग 

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी, रातोढुङ्गाका वोन क्यान्सरपीडित १७ वर्षीय गजिन रोकामगरलाई युकेमा कार्यरत नेपालीले रु दुई लाख बढी आर्थिक सहयोग गरेका छन् । 

एक वर्षदेखि वोन क्यान्सरबाट पीडित रोकामगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोकामगरको संयोजकत्वमा त्यहाँ कार्यरत नेपालीबाट सङ्कलित रु दुई लाख ४६ हजार ८५२ सहयोग गरेका हुन् । 

मङ्गलबार सहयोग सङ्कलन अभियान संयोजक एवं समाजसेवी दलबहादुर रोकामगरले एक कार्यक्रमबीच स्थानीय युवा क्लब, आमा समूह तथा विभिन्न सरोकारवालको उपस्थितिमा पीडित रोकामगरको बुबा खगेन्द्र रोकामगर र आमा मनकुमारी रोका मगरलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै संयोजक रोकामगरले अकल्पनीय रोगसँगै चरम अर्थाभाव झेल्दै आएका परिवारमा परेको ऋणभारलाई कम गर्न सहयोग गरिएको बताउनुभयो । 

रोका मगरका बुबा खगेन्द्रले विदेशमा आफ्नो पसिना बगाएर कमाएको पैसा आफूहरुलाई सहयोग गरेकामा धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । 

पीडित रोकामगरको वोन क्यान्सरका कारण देब्रे हात काटिएको छ । निम्न आर्थिक अवस्था रहेको रोका परिवारलाई उपचारको क्रममा ठूलो ऋण लागेको पीडित बुबा खगेन्द्रले बताउनुभयो । पीडित रोकामगर दरबाङमा रहेको जनप्रिय माविमा कक्षा ९ मा अध्ययनरत छन् । 

महाशिवरात्रिमा तीन लाख बढी भेटी 

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एकैदिन रु तीन लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रिको अवसरमा मन्दिरमा दर्शन गर्न आएका भक्तजनबाट रु तीन लाख १४ हजार २५० भेटी सङ्कलन भएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो । 

भेटीको दुरुपयोग हुन नदिन नियमित रूपमा भेटी सार्वजनिक गर्ने गरिएको छ । शिवरात्री, बालाचर्तुदशी, साउन महीनाका हरेक सोमबारलगायतका पर्वको दुई दिनभित्र भेटी सार्वजनिक गर्ने गरिन्छ । गत वर्षको शिवरात्रिमा रु दुई लाख ६६ हजार १८८ भेटी सङ्कलन भएको थियो । 

गलेश्वरमा महाशिवरात्रिमा करीब ५० हजार भक्तजनले दर्शन गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । गलेश्वरमा शिवरात्रिमा दर्शन गर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलवस्तुलगायत जिल्लाबाट भक्तजन आएका थिए । 

मन्दिरमा सङ्कलन भएको भेटी संस्कृत पाठशाला सञ्चालन, ज्येष्ठ नागरिक आश्रमलगायत धार्मिक, सामाजिक र भौतिक निर्माणका क्षेत्रमा खर्च गर्ने गरिन्छ । कृष्णागण्डकीबाट उठेर नौ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!