ग्यास उद्योगीले पिडिओ खरीद गरे

Posted on: 06 Mar, 2019

फागुन २२, काठमाडौँ । नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले आजदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन् । 

निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले यही फागुन १७ गतेदेखि पिडिओ खरीद गरेका थिएनन् । 

निगम र उद्योगीबीच मङ्गलबार एलपी ग्यासको पिडिओ खरीद गरी ग्यासको बिक्री वितरण सहज बनाउने समझदारी भएको थियो । एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी भएको छ । 

व्यवसायीले पिडिओ खरीद नगर्दा ग्यासको आयात बन्द भएको थियो । आयात ठप्प भएपछि बजारमा ग्यासको असन्तुलन देखिएको थियो । हाल नेपालमा ५९ वटा ग्यास उद्योग रहेका छन् । ती उद्योगले भारतका पारादिप, हल्दिया, बरौनी र मथुरामा रहेको रिफाइनरीबाट ग्यास लोड गर्दै आएका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!