काठमाडौँका अनावश्यक, अशोभनीय यात्रु प्रतीक्षालय हटाइँदै

Posted on: 07 Mar, 2019

फागुन २३, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ । 

बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु प्रतीक्षालयको अवलोकन गरेको थियो । कार्यदलका संयोजक एवं वडा नं १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले कतै आवश्यक स्थानमा पनि नभएको र केही अनावश्यक स्थानमा रही शहरलाई कुरूप बनाएकाले हटाउन लागिएको जानकारी दिनुभयो । 

संयोजक महर्जनका अनुसार स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतिक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकारसम्पन्न समितिमा प्रतिवेदन दिइनेछ । समितिले विगतमा प्राप्त भएका प्रस्ताव, शहरको विद्यमान अवस्था र आवश्यकता विश्लेषण गरेर कस्ता प्रतिक्षालय निर्माण गर्ने, कहाँ निर्माण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने निक्र्योल गर्नेछ । यात्रु तथा सार्वजनिक यातायात दुवैका लागि आवागमन र उपयोग सजिलो बनाउन समिति गठन गरिएको हो । 

महानगरका उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित अधिकारसम्पन्न समितिमा कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सदस्य हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!