जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले तलब पाएनन्

Posted on: 07 Mar, 2019

फागुन २३, खलङ्गा (रासस) | जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गर्नुभयो ।

गाउँपालिकाअन्तर्गत पर्ने पाँच स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र कर्मचारी गरी करीब २८ कार्यरत रहेका छन् । उनीहरु सबैले मङ्सिरदेखि तलबभत्ता नपाएको उहाँको भनाइ छ । मङ्सिरदेखि तलब नपाउँदा समस्या भएकोे स्वास्थ्य सहसंयोजक गणेश शाहीले बताउनुभयो । ऋण निकालेर खर्च चलाउनुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । “चार महीनासम्म तलब नपाउँदा खर्च कसरी धानेका हौँला”, शाहीले भन्नुभयो, “चार महीना भइसक्यो, कसरी काम गर्ने, हाम्रो घरव्यवहार चलाउनु पर्दैन ?” धेरै पटक गुहार्दा पनि तलब नपाएको उहाँको भनाइ छ । 

रारालिही स्वास्थ्यचौकीका इञ्चार्ज दिनेश चौधरीका अनुसार मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।” स्वास्थ्यकर्मीले चार महीनादेखि तलब पाउन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले चाँडो तलबभत्ताको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो । 

यता गाउँपालिकाका लेखापाल मुनप्रसाद खत्रीका अनुसार रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) बाटै निकासा नभएका कारण स्वास्थ्यकर्मीले तलबभत्ता खान नपाएको बताउनुभयो । रकम फुकुवाका लागि पहल गरेको उहाँको भनाइ छ । कोलेनिका जुम्लाका निमित्त प्रमुख भक्त महतले सम्बन्धित मन्त्रालयबाटै रकम नआएका कारण जुम्लाका सबै स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको बताउनुभयो । मन्त्रलायले रकम निकासाको लागि परिपत्र गर्ने बित्तिकै आठ वटै स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले तलबभत्ता पाउने महतले जानकारी दिनुभयो । 

स्वास्थ्य जाँच 

गुठीचौर गाउँपालिका र सन्ध्या फाउण्डेशन नेपाल जुम्लाको सहकार्यमा पाठेघरको मुखमा क्यान्सर भएका महिलाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र फाउण्डेशनको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । घरायसी कामको चाप, उकालो ओरालो गर्ने भएका कारण पाठेघरमा फोहर जम्मा हुने भएकाले त्यस्तो समस्या महिलाले भोग्नु नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य जाँचको आयोजना गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष्य अङ्गत देवकोटाले जानकारी दिनुभयो । 

स्वास्थ्य जाँचमा ७७ महिलाको उपचार गरिएको र १२ महिलाको पाठेघरको मुखमा क्यान्सरको सम्भावना देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पाठेघरको मुखमा क्यान्सरको सम्भावना देखिएकालाई सम्बन्धित निकायमा थप उपचारको लागि सिफारिस गरिएको देवकोटाले जानकारी दिनुभयो । 

जुम्लाका महिलामा प्रायः बालविवाह, गर्भवती भएको बेला अव्यवस्थित खानपान तथा गर्भपतनले पाठेघरमा रगत जम्ने भएका कारण पाठेघरको मुखमा क्यान्सर हुने गरेको चिकित्सकले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!