पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

Posted on: 08 Mar, 2019

फागुन २४, चितवन | पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा र्याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर र्याफ्टिङ यात्रा सम्पन्न गरेको छ । 

पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले र्याफ्टिङबाट झरेपछि जीवनमा एकपटक र्याफ्टिङ यात्रा गर्नैपर्दोरहेछ भन्नुभयो । शुरुमा डर लागे पनि यात्रा गर्दै जाँदा अविस्मरणीय अनुभव भएको वनको भनाइ छ । सन् २०२० मा स्वदेशी र विदेशी धेरै पर्यटक चितवनमा भित्र्याउने योजनासहित लागि पर्नुभएका वनले पर्यटकीय गतिविधिका हिसाबले हामी निकै धनी रहेको बताउनुभयो । 

काठमाडौँबाट आउने पर्यटक त्रिशूली नदीमा र्याफ्टिङ गर्दै नारायणगढ पुग्न सकिने सन्देश यस कार्यक्रमले दिएको प्रदेशसभा सदस्य कृष्ण खनालले बताउनुभयो । 

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन र चितवनको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित त्रिशूली नदीमा र्याफ्टिङ गरिएको बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र पूर्वप्रतिनिधिसहित ३५ जनाको टोलीले र्याफ्टिङ गरेको हो । 

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा हरेक वर्ष दुई लाखको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । जिल्लामा आउने पर्यटकको मुख्य गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । यससँगै पवित्र तीर्थस्थल देवघाट, सिराइचुली, लामो झरना, थारु संस्कृतिसँगै जलयात्रा हुने गर्दछ । 

पर्यटकको बसाइँ लम्ब्याउनका लागि नयाँ गन्तव्यको खोजी गर्नुपर्ने क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!