पूर्व लडाकू कमाण्डरलाई नगर निर्माणको नेतृत्व

Posted on: 08 Mar, 2019

फागुन २४, कालिकोट । रास्कोट नगरपालिकाले पूर्व जनमुक्ती सेनाका कमाण्डरलाई निर्माण कार्यदलको नेतृत्व सुम्पकोे छ । तत्कालिन माओवादी जनमुक्ती सेनाका विग्रेड सहायक कमाण्डर सुवास खड्काको नेतृत्वमा निर्माण कार्यदल गठन गरिएको हो । तत्कालिन जनयुद्ध पछि शान्ति प्रक्रियाका क्रममा सेना समायोजनमा स्वेच्छिक अवकास रोजेका पुर्व लडाकुको नेतृत्वमा कार्यदल तयार गरिएको हो । 

तत्कालिन शसस्त्र युद्धमा ७० भन्दा धेरै युद्धको मोर्चामा भाग लिएका खड्कालाई रास्कोट नगरपालिकाले कमाण्डरको रुपमा जिम्मेवारी दिएको छ । निर्माण कार्यदलमा अधिकांश पुर्व लडाकु भर्ती गरिएका छन् । जसको नेतृत्व पुर्व लडाकुले नै गरेका छन् । रास्कोट नगरपालिकाको ९ वटै वडाको नेतृत्व गर्ने गरी पुर्व लडाकु खड्कालाई निर्माण कार्य दलको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ । प्रत्येक वडाबाट २५ देखि ४० जनासम्म निर्माण कार्यदलमा आवद्ध छन् । 

तत्कालिन छैटौं डिभिजन अन्तर्गत जित विग्रेडका साहायक कमाण्डर रहेका खड्काले युवा विकासका सारथी भएकाले निर्माणको बाटो रोजेको बताए । बेरोजगारीबाट तड्पीएका युवाको नेतृत्व गर्न पाउँदा निकै खुसी भएको खड्काको भनाई छ । ‘मैले ८ सय जना तत्कालिन जनमुक्ती सेनाको नेतृत्व गरेको थिएँ’ उनले भने, ‘राजनीतिक परिस्थिति भुमिका बदलियो ।’ बेरोजगारले थला परेका युवाहरु अब नगर निर्माणमा जुटेको उनले बताए । युवालाई रोजगारी दिने उद्देश्यले श्रम बैंकको नीति अपनाएर निर्माण कार्यदल गठन गरिएको रास्कोट नगरपालिका मेयर काँशीचन्द्र बरालले बताए । 

रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगारी दिन श्रम बैंक सञ्चालनमा ल्याए पनि कार्यदल गठन प्रक्रियामा समावेसी नभएको नागरिक समाजका अगुवा अमलराज शाहीले बताए । आफन्त र नजिकका व्यक्तिहरुलाई कार्यदलमा भर्ती गरिएको उनको आरोप छ । रास्कोट नगरपालिका वडा नम्वर १ का स्थानीय युवा कलिन्द्र शाहीले भने, ‘हामिले रोजगार कहिले पाउँने होला ? जनप्रतिनिधिले आफ्ना आफन्त मात्र निर्माण कार्यदलमा भरेका छन् । वर्षको दुइ पटक भारतको कालापहाड जानु पर्छ । म जस्ता धेरै युवाले ढुंगा माटो फाल्ने रोजगार पनि पाएका छैनौं ।’ 

तर, नगर प्रमुख बरालले श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्र नै रोजगारी दिने लक्ष्य राखेर श्रम बैंकको स्थापना गरेको बताए । युवालाई निर्माणमा खटाएर नगरपालिकाभित्र कुनै पनि युवालाई बेरोजगार नराखिने उनको भनाइ छ । नगरका सबै वडाबाट बेरोजगार युवा समेटेर श्रम बैंक स्थापना गरिएको हो । जसमा १८ देखि ४९ वर्षसम्मका बेरोजगार महिला–पुरुष सदस्य रहेका छन् । उनीहरूको क्षमताअनुसार काममा लगाइने नगर प्रमूख बरालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!