९३ स्थानीय तहकाे नाम र केन्द्र परिवर्तन

Posted on: 09 Mar, 2019

फागुन २५, काठमाडौं - देशभरका ७५३ स्थानीय तहमध्ये ९३ ले नाम तथा केन्द्र परिवर्तन गरेका छन् । १७ तहले केन्द्र नचलाई नाम मात्रै फेरेका छन्, ५५ तहले नाम यथावत् राखी केन्द्र मात्रै सारेका छन् । २१ तहले भने नाम र केन्द्र दुवै परिवर्तन गरेका छन् । २२ पुस ०७३ मा स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७ सय १९ तह हुने गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले पटकपटक थपेर स्थानीय तहको संख्या ७ सय ५३ बनाएको थियो । ८७ गाउँपालिका, १ महानगर, एक उपमहानगर र चार नगरपालिकाले परिवर्तनको निर्णय गरेका हुन् ।

केन्द्र फेर्नेमा गाउँपालिका धेरै 

केन्द्र(सदरमुकाम) फेर्नेमा भौगोलिक रूपमा विकट मानिएका र विकासका हिसाबले पछाडि रहेका स्थानीय तह बढी छन् । केन्द्र सार्ने ५५ स्थानीय तहमध्ये ५४ वटा गाउँपालिका छन् । नगरपालिकामा डोल्पाको ठूलीभेरीले मात्रै केन्द्र परिवर्तन गरेको छ । भौगोलिक सन्तुलन मिलाउन र स्थानीयलाई पायक पार्न दुनैमा रहेको केन्द्रलाई जुफाल सारिएको छ । 

महानगर र उपमहानगरले पनि फेरे नाम

महानगर र उपमहानगरपालिकाले पनि नाम फेरेका छन् । साबिकको पोखरा–लेखनाथ महानगरपालिकाले नाम परिवर्तन गरेर पोखरा महानगरपालिका बनाएको छ । त्यस्तै, जनकपुर उपमहानगरपालिकाले आफ्नो नाम जनकपुरधाम बनाएको छ । सुनसरीको बराह नगरपालिकाले बराहक्षेत्र नाम कायम गर्दा खोटाङको रूपाकोट मझुवागढी नगरपालिकाले नाम परिवर्तन गरी दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका बनाएको छ । नाम परिवर्तन गर्ने १७ स्थानीय तहमध्ये १३ वटा भने गाउँपालिका छन् । याे समाचार तीर्थराज बस्नेतले नयाँ पत्रिकामा लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!