एबिसीलाई पूर्ववत् अवस्थामा फर्काइँदै

Posted on: 11 Mar, 2019

वासुदेव पौडेल | फागुन २७, पोखरा | अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पुर्याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै यहाँका व्यवसायी यस स्थललाई पूर्ववत् अवस्थामा फर्काउने तयारीमा जुटेका छन् । 

अकल्पनीयरूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँस्थित होटलका छाना नै उडाएको र हिउँ जमिरहेका कारण होटलभित्रको क्षतिबारे अझै यकिन हुन नसकेको स्थानीयवासी बताउँछन् । हिमआँधीका बखत उक्त स्थानमा कुनै मानिस नरहेका कारण कुनै मानवीय क्षति भने नभएको अन्नपूर्ण सेन्चुरी लजका सञ्चालक जेबी गुरुङले बताउनुभयो । 

“क्षति त अकल्पनीय रूपमा नै भएको छ”, उहाँले भन्नुभयो, “एबिसी पुग्ने गरी आउने स्वदेशी एवं विदेशी पर्यटकको आशा एवं विश्वासलाई मध्यनजर गरी पुनः निर्माणको तयारी थालिसकेका छौँ ।” हिउँ पग्लिनसकेका कारण पुनःनिर्माणमा केही असहजता भए पनि पर्यटकलाई वैशाखको पहिलो हप्तामा नै आधार शिविरमा पुगी बस्न सक्ने गरी पुनःनिर्माणको तयारी थालिएको उहाँले जानकारी दिनुभयो । 

आजभन्दा झण्डै चार दशकअघिसम्म एबिसी जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्ने गरेको स्थानीयवासी एवं होटल स्नोल्याण्डका सञ्चालक जगनबहादुर गुरुङले जानकारी दिनुभयो । गुरुङ र अर्का पर्यटन व्यवसायी स्व डम्बरबहादुर गुरुङले विसं २०३८ मा पहिलोपटक एबिसीमा पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालन शुरु गर्नुभएको थियो । 

त्यसपछि यहाँस्थित होटललाई क्रमशः सुविधासम्पन्न बनाउने लक्ष्यअनुरूप वर्षेनी पूर्वाधार थप हुँदै गएको उहाँले जानकारी दिनुभयो । एबिसीमा मात्रै हाल चार होटेल छन्, जसमा झण्डै १०० बढी बस्नसक्ने व्यवस्था छ । गुरुङका अनुसार पछिल्लो तीन दशकयता एबिसी जाने पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ«े आधार शिविर र एबिसीसमेतमा जम्मा २६ होटल सञ्चालनमा रहेका छन् । 

एबिसीमा जीवनको लामो समय बिताएका ६७ वर्षीय गुरुङले आफ्नो लामो समयदेखिको अनुभवमा यस पटक एकाएक ठूलो हिमआँधी आएको बताउनुभयो । परापूर्वकालदेखि नै अन्नपूर्ण पदमार्ग क्षेत्रको देउरालीदेखि माथिको क्षेत्र धर्म तथा संस्कृतिसमेतका आधारमा अत्यन्त संवेदनशील क्षेत्र भएको उहाँले बताउनुभयो । 

यहाँस्थित बुद्धशिला, पुजनीयम बराह र यहाँबाट देखिने १०८ धारासहितका धार्मिकस्थललाई अत्यन्त श्रद्धा विश्वासका साथ पूजाआजा गर्ने गरिएको बताउँदै उहाँले यस क्षेत्रमा कुखुरा, बङ्गुर, भैँसीको मासु ल्याउन नहुने जनविश्वास रहेको बताउनुभयो । “यस क्षेत्रमा कुखुरा, बङ्गुर र भैँसीको मासु ल्याउन नहुने प्राचीनकालदेखिको प्रचलन हो”, गुरुङले भन्नुभयो, “निषेधित वस्तु लुकाएर ल्याएमा पनि अनिष्ट हुने जनविश्वास छ ।” 

शक्ति, संस्कृतिजस्ता कुरालाई कदापि बिर्सन नहुने बताउँदै उहाँले युवापुस्ताले पनि प्रचलित आस्था एवं विश्वासलाई सधैँ आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण आधार शिविरमा यसपटक के कारणले यत्रो क्षति भयो त्यसको यकिन कारण भने अझै नखुलेको बताउँदै उहाँले पर्यटकको सेवालाई लक्षित गरी भत्के बिग्रेका पूर्वाधारलाई चाँडै नै पूर्ववत् अवस्थामा फर्काउने गरी आफूहरू सक्रिय बनेको उल्लेख गर्नुभयो । 

स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य एबिसी भएका कारण यहाँको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्ने अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताउनुभयो । क्षतिपश्चातको पुनःनिर्माणमा स्थानीयवासीले निकै चासो देखाएको बताउँदै उहाँले ठूलो हिमपातसँगै आधार शिविर र यस क्षेत्रका पदमार्गमा भएको क्षतिको पुनःनिर्माणलगायतका विषयमा तत्काल कदम चालिने उहाँले बताउनुभयो । 

गाउँपालिकाबाट आधार शिविर एवं पदमार्ग क्षेत्रमा भएको उचित क्षतिपूर्तिका लागि नेपाल सरकारसँग तत्काल पहल गर्ने उहाँले जानकारी दिनुभयो । आधार शिविरमा ठूलो क्षति भएपनि स्थानीयले पूर्ववत् अवस्थामा फर्काउने गरी गरेको तयारीमा गाउँपालिका, प्रदेश सरकार एवं सङ्घीय सरकारको ध्यान तत्काल पुग्नुपर्ने स्थानीय समाजसेवी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ मूल आयोजक समितिका संयोजक ललित गुरुङले बताउनुभयो । 

“ठूलो क्षति व्यहोरेर पनि यहाँका व्यवसायी वैशाखको पहिलो हप्तामै पर्यटकलाई एबिसीमा नै बस्न सक्ने गरी व्यवस्था मिलाउन लागेका छन्”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा उनीहरूलाई सरकार एवं सम्बन्धित निकायले अभिप्रेरित गर्नुपर्ने टड्कारो आवश्यकता छ ।” पदमार्ग क्षेत्रको माछापुच्छ«े आधार शिविरसम्म बाटो खुला गरिसकिएको बताउँदै उहाँले भन्नुभयो, “एबिसीमा पुनःनिर्माण सम्पन्न नहुँदासम्म तत्कालका लागि करीब डेढ घण्टाको हाइकिङ गरी पर्यटकलाई त्यहाँ पु¥याएर पुनः माछापुच्छ«े आधार शिविरमा नै ल्याएर बसाउन सकिने अवस्था छ ।” 

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । 

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेका अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!