२ सय ३२ स्थानीय तहमा रोजगार संयोजकका लागि भोलि आवेदन खुल्दै

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाण्डौ । सरकारले पदपूर्ति हुन बाँकी २३२ स्थानीय तहमा रोजगार संयोजकका लागि बिहीबार फेरि आवेदन खुलाउने तयारी गरेको छ । 

७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाउन लागिएको हो । पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्न लागिएको हो ।

सरकारले भोलि (बिहीबार) विज्ञापन खुलाउंदै छ । तर यो पालि १० दिनको मात्रै आवेदनको समय रहनेछ ।

मन्त्रालयले रोजगार संयोजकका लागि गएको माघ १८ गतेसम्म आवेदन मागेको थियो ।  २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए । तीमध्ये २ हजार २ सय ६५ जना उम्मेदवार प्रारम्भिक योग्यता क्रममा छानिएका थिए ।

प्रारम्भिक योग्यता क्रममा छानिएका उम्मेदवारको फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाइन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको थियो ।

परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था गरिएको थियो । तर ७ सय ५३ वटै स्थानीय तहमा एक–एक जना रोजगार संयोजक आवश्यक भए पनि ५ सय २१ जना उत्तीर्ण भएका थिए । मागअनुसार पदपूर्ति हुन नसकेको २३२ वटा स्थानीय तहमा फेरि पुरानै प्रक्रियाबाट पदपूर्ति हुन लागेको हो । 

प्रदेश १ मा आवश्यक १३० अधिकृत तहमध्ये ६७ जना मात्र पास भएका छन् भने नायव सुब्बामा ७ जना मागिएकोमा ५ जनाको मात्र उत्तीर्ण भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!