रोजगार संयोजकमा २६८ जनाको लागि पुन: विज्ञापन खुल्यो, चैत्र ९ गतेसम्म आवेदन दिनुपर्ने

Posted on: 13 Mar, 2019

फागुन २८, काठमाडौं। सरकारले रोजगार संयोजकको दरबन्दीमा करार सेवामा पदपूर्तिका लागि पुनः विज्ञापन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजकको लागि २६८ जना माग गरेको हो।  

नेपाल सरकारले मुलुकको ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी सञ्चालनका लागि खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि गत माघ ४ गते पहिलो चरणमा सूचना प्रकाशित गरेको थियो । पहिलो पटक ७५३ जना माग गरिएकोमा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो । तरपनि आवश्यक संख्यामा कम्प्युटर परीक्षा पास हुन नसकेपछि पुन: विज्ञापन खोलिएको हो ।  

प्रदेश नं. १ को लागि शाखा अधिकृत ६६ जना, नायब सुव्वा ५ जना, प्रदेश नं. २ को लागि शाखा अधिकृत ४५ जना, प्रदेश नं. ३ को लागि शाखा अधिकृत ३१ जना र नासु १ जना, गण्डकी प्रदेशको लागि  शाखा अधिकृत १४ जना र नायब सुव्वा १ जनाको माग गरिएको छ।  त्यस्तैगरी कर्णाली प्रदेशको लागि शाखा अधिकृत ४३ र नासु ११ जना, सुदूरपश्चिम प्रदेशको लागि शाखा अधिकृत ५० जना र  नासु  १ जनाको माग गरिएको छ । 

योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र अर्थात् चैत्र ९ गते बेलुकी ५ बजेसम्म  प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईट मार्फत अनलाईन दरखास्त पेश गर्न सक्नेछन् । अन्तिम योग्यताक्रमको सूची प्रकाशन हुने मितिसम्म रिक्त हुन आउने रोजगार संयोजकका पदहरु समेत यसै सूचनामा समावेश भएको मानी पदपूर्ति गरिने श्रम मन्त्रालयले जनाएको छ ।

न्यूनतम योग्यताः 

(क) राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजकका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह र राजपत्र अनंकित प्रथम श्रेणी, (नायब सुब्बा सरह) को रोजगार संयोजकका लागि कम्तीमा प्रवीणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको,

(ख) दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको,

(ग) भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको,

(घ) कम्प्युटर सम्बन्धी देहाय बमोजिमको ज्ञान र सीप भएको,

१. देवनागरी र अंग्रेजीमा दक्षतापूर्वक टाइपिङ्ग गर्न सक्ने ।

२. Computer, Printer, Scanner, Multimedia लगायत उपकरणहरुको प्रयोग गर्न सक्ने सीप भएको ।

३. MS-Office Package (Word, Excel, Access, Power point आदि) को प्रयोग गर्न सक्ने क्षमता भएको ।

४. इमेल इन्टरनेट सम्बन्धी आधारभूत ज्ञान भएको ।

५. व्यवस्थापन सूचना प्रणाली (MIS) सम्बन्धी आधारभूत ज्ञान भएको ।

अनलाईन दरखास्त साथ अपलोड गर्नु पर्ने कागजातहरुः  

(१) नागरिकता प्रमाणपत्र (दुबैपट्टि देखिने), 

(२) पासपोर्ट साइजको फोटो (हालसालै खिचेको)

(३) न्यूनतम शैक्षिक योग्यताको लब्धांकपत्र

(४) न्यूनतम शैक्षिक योग्यताभन्दा एक तह माथिल्लो शैक्षिक योग्यताको लब्धांकपत्र (उपलव्ध भएमा) र 

(५) कम्तीमा दुई वर्ष काम गरेको अनुभवको प्रमाणपत्र (उपलव्ध भएमा) । 

सेवा र सुविधा

रोजगार संयोजकको छनौट प्रकृया, तलव भत्ता तथा अन्य सेवा र सुविधा सम्बन्धी व्यवस्था नेपाल सरकार (मन्त्रिपरिषद) बाट स्वीकृत रोजगार संयोजकको पदपूर्ति सम्बन्धी मापदण्ड, २०७५ बमोजिम हुनेछ ।  यो मापदण्ड www.pmep.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!