राउटेलाई बैंकबाटै भत्ता

Posted on: 13 Mar, 2019

फागुन २९ सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समयमा आधुनिकतातर्फ उन्मुख भएको छ । जंगलमै बासस्थान बनाएर काठका सामग्री अन्नबालीसँग साट्ने र जीविकोपार्जन गर्दै आएका राउटेहरु बदलिएका छन् । विगतमा पैसा छुँदा पाप लाग्छ भन्ने उक्त समुदायका नागरिकहरु बैंकबाट पैसा बुझ्न थालेका छन् ।


सुर्खेतको लेकवेशी नगरपालिकाको चिप्लेमा बस्दै आएका राउटे समुदायका मुखियाहरुले पहिलो पटक बैंकबाट तलव बुझेका छन् । पुर्खादेखि नै पैसा छुनु हुँदैन भन्दै आएका राउटेहरुले पहिलो पटक बैंक सेवा लिएका हुन् । राउटे समुदायको मुलीका रुपमा छनोट भएका तीन जना मुखियाले पहिलो पटक मुखिया पदको तलव बुझेका हुन् । सामाजिक सेवा केन्द्र दैलेखबाट फागुन १२ गते मुखिया पदमा नियुक्ति पाएका मुखियासहित थप दुई जना राउटेले बैंकबाट चेक साटेर तलव बुझेका हुन् । उनीहरुले मेगा बैंक सुर्खेत शाखाबाट बुधबार चेकमार्फत फागुन महिनाको तलव बापत जनही एक हजार पाँच सय रुपैयाँ तलब बुझे ।

परासामाजिक कार्यकर्ताको रुपमा नियुक्ती पाएका मुखिया सुर्यनारायण शाही, डिलबहादुर शाही, बिरबहादुर शाही र प्रकाश शाही तथा मैनबहादुर शाहीले चेक साटेर पैसा लिएका छन् । पहिलो पटक बैंकिङ कारोबार गरेका राउटेहरु खुसी भएका छन् । ‘पहिलो पटक चेक समाएको हुँ’ मुखिया सुर्यनारायणले भने,‘पहिले मुखिया हुँदा तलव पाइँदैन थियो । अब दिन राम्रा आए। जनता पनि खुसी छन् ।’ सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटेलाई बैंकको पहुँचमा र्पुयाउन र आधुनिकतातर्फ ल्याउन चेकमार्फत तलव प्रदान गरिएको बताए । राउटेहरु केही महिना पहिले मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत बसाई सरेका थिए । चिसो मौसममा तराई बस्ती सर्ने राउटेहरु गर्मी शुरु भएसँगै पहाडतिर बस्ती बस्ने गर्छन् । हालसम्म जंगलमा बस्दै आएका राउेटहरु कम्तीमा तीन महिनासम्म स्थान परिवर्तन गरि बस्ती सर्ने गर्छन् । विगतमा ननुहाउने उनीहरु आजभोली नुहाउने, सरसफाई गर्ने र पढ्ने गराउने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!