देशभरको मौसममा बदली, शनिवारसम्मको मौसम यस्तो रहनेछ

Posted on: 14 Mar, 2019

फागुन ३०, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर मौसममा बदली हुने भएको छ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षासमेत सम्भावना रहेको छ ।

मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ ।

बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । 

शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । अपराह्नपछि भने देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!