रासस समाचार चोरीमा संलग्न अनलाइन तथा मिडियाहरुको विवरण दिन आग्रह

Posted on: 15 Mar, 2019

चैत १, काठमाडौँ | राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी 'श्यामल'ले राससका समाचार चोरी गर्नमा धेरै अनलाइन मिडियाहरु सक्रिय रहेको बताएका छन् । अध्यक्ष अधिकारीले राससको समाचार अनाधिकृत तवरबाट चोरी भईरहेकोमा संस्थान गम्भीर रहेको बताउँदै कारवाहीको दायरामा ल्याउने प्रयत्न भईरहेको बताए । 

अध्यक्ष अधिकारीले राससको समाचार पाउन अधिकारप्राप्त मिडियाहरुले मात्रै यसको सदुपयोग गरुन् भन्ने हेतुले नयाँ सफ्टवयरको प्रयोग गर्न लागेको जानकारी दिए । साथै उनले राससको उत्पादन चोरी गर्नेहरुले निर्धारित शुल्क तिरेर मात्र राससको सामग्री उपयोग गर्न आग्रह गरेका छन् ।  उनले भने 'पछिल्लो समय राससका समाचार चोरी गर्नेहरुमा अनलाइन मिडिया बढी सक्रिय छन् । अब यसको नियन्त्रण हुन्छ । केहि प्रयास भएका छन् नतिजा छिट्टै आउँछ । अनाधिकृत मिडियाले राससको सामग्री प्रयोग गर्दा शुल्क तिरेर यसको उपभोग गर्नेहरुलाई अन्याय भएको छ ।' 

अध्यक्ष अधिकारीले राससको समाचार चोरीको बिषयमा संचार माध्यमहरु, पत्रकारहरु र पत्रकार महासंघ समेतको आवश्यक सहयोग आफूहरुले चाहेको बताए । 

वि.स. २०१८ मा स्थापित राष्ट्रिय समितिमा हाल देशभरी झन्डै ३०० जना पत्रकारहरुको आवद्धता छ । राससले समाचार, फोटो तथा अडियोहरु संचार माध्यमहरुलाई निश्चित शुल्क लिएर प्रदान गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!