प्रहरीद्वारा विप्लवका कार्यकर्तामाथि ४ राउण्ड गोली प्रहार

Posted on: 20 Mar, 2019

चैत ६, काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । 

मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट ६ थान मोवाईल, चार्जर र सांस्कृतिक क्रान्तिको दस्तावेज बरामद गरेको छ । 

प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न चार राउण्ड गोली चलाएको थियो । 

महाशाखाले पहिले विप्लवका कार्यकर्ताले फायर गरेको दाबी गर्दै प्रहरीका तर्फबाट जवाफी फायर गरिएको बताएको छ ।  तर, विप्लव समूहको तर्फबाट गोली चलेको पुष्टि हुन सकेको छैन । 

अपराध महाशाखाको टोली मंगलबार बिहान काठमाडौंमा समातिएका भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई साथै लिएर काभ्रे पुगेको थियो । 

पक्राउ परेका विप्लवका कार्यकर्ताले आफन्तहरुसँगको भेटमा प्रहरीले आफूहरुलाई पक्राउ गरेपछि अमानवीय ढंगले कुटपिट गरेको तर आफ्नो तर्फबाट गोली नचलेको बताएका छन् ।  

अपराध महाशाखाका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले एक विज्ञप्ती जारी गरेर पक्राउ परेकाहरु नख्खुस्थित एनसेल र बसुन्धारास्थित रोहन गुरुङको घरमा बम विष्फोट गराउने समूह भएको जानकारी दिएका छन् । 

विप्लव समूहका कार्यकर्ताले फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय र फागुन २४ गते बसुन्धारास्थित रोहन गुरुङको घरमा शक्तिशाली बम विष्फोट गराएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!