बैतडी जिल्ला अस्पताल प्रविधिमैत्री

Posted on: 21 Mar, 2019

चैत ७, बैतडी (रासस) | जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगदीशचन्द्र विष्टले बताउनुभयो । 

आधुनिक प्रविधिको प्रयोगले अस्पतालको सेवा छिटोछरितो र सहज भएको उहाँको भनाइ थियो । अस्पतालका काम कम्प्युटर प्रणालीबाट गरिँदा हातले लेखेर बिरामीलाई सेवा दिनुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ थियो । यो कार्यले सेवाग्राही र कर्मचारी दुवैलाई सजिलो भएको र आर्थिक पारदर्शिता पनि भएको छ । 

अस्पतालमा भिडियो एक्सरेका लागि पनि अहिलेको भन्दा गुणस्तरीय नयाँ उपकरण आएको तर जडान गर्न मात्र बाँकी छ भने विद्युतीय हाजिरी र इन्टरकम फोन पनि जडान गरिएको छ । अस्पताल प्रविधिमैत्री बन्दा सेवाग्राहीलाई सेवा लिन र कर्मचारीलाई सेवा दिन सजिलो भएको अस्पतालका मेडिकल अधिकृत डा वसन्तराज जोशीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!