वडा कार्यालय नसार्न अन्तरिम आदेश

Posted on: 21 Mar, 2019

चैत ७, डोटी । जिल्लाको शिखर नगरपालिका–३ को वडा कार्यालय केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत दिपायलले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ । 

उच्च अदालत दिपायलले पछि ठहरे बमोजिम हुने गरी हाललाई वडा अध्यक्षसहित तीन जनाको बहुमत सदस्यले गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको हो । वडा नं ३ विसं २०७५ माघ १७ गते भएको बैठकले हाल केन्द्र रहेको आली अतुरालीबाट जोरागाउँमा केन्द्र सार्ने निर्णय गरेको थियो । 

त्यसपछि उक्त निर्णय गैरकानूनी भएको भन्दै उक्त निर्णय विरुद्ध वडा सदस्य नरहरादेवी बोगटी र खड्कबहादुर जोराले उच्च अदालत दिपायलमा रिट निवेदन दर्ता गराउनुभएको थियो । उक्त रिट निवेदनमा निवेदकका तर्फबाट अधिवक्ताहरु शङ्करदीप मडै र मेरिना श्रेष्ठले बहस गर्नुभएको थियो । 

उच्च अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६ (७) बमोजिम गाउँ तथा नगरसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतले प्रस्ताव पारित गरी वडाको केन्द्र हेरफेर गर्नसक्ने भनी स्पष्ट कानूनी व्यवस्था रहेकोसमेत आदेशमा उल्लेख गरेको छ । उच्च अदालतको अन्तरिम आदेशपछि अतुरालीका स्थानीय खुशी भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!