बैतडीका भण्डारीको हत्यामा संलग्न दुई जना पक्राउ

Posted on: 23 Mar, 2019

चैत ९, धनगढी | कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली जिल्ला गोदावरी नगरपालिकाका २३ वर्षीय गोविन्द आउजीलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताउनुभयो । 

यही चैत २ गते गोदावरी नगरपालिका–४ को खैराना गाउँ जाने सडकमा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा भण्डारीको शव फेला परेको थियो । भण्डारीको साथमा रहेको रकम लुट्नका लागि खैराना जङ्गल छेउको सडकमा पु¥याएर निजको हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो । हत्या गर्नुअघि स्थानीय बस बिसौनी नजिकको एक होटलमा उनीहरुले सँगै मदिरा सेवन गरेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!