काठमाडौँबाट लागुऔषधसहित ३ जना पक्राउ

Posted on: 23 Mar, 2019

चैत ९, काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । 

महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याब्लेट बरामद गरिएको छ । 

यस्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट झापा चन्द्रगढीका सुशान्त गुरागार्इं र सिन्धुलीमाडी घर भई जडीबुटी बस्ने १९ वर्षीय रोहित मैनालीलाई समेत लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट अवैध लागुऔषध नाइट्राभेट ४०२ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!