जैविक फोहरबाट बायोग्यास उत्पादन

Posted on: 28 Mar, 2019

पुरुषोत्तम सुवेदी | चैत १४, नवलपरासी (रासस) | पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ ।

रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाईभैसीको मल (गोबर) र मोलासिस अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्दै आएको हो । 

फोहरमौलाबाट बायोग्यास र मल उत्पादन गर्ने यो मुलुककै पहिलो प्लान्ट भएको प्रालिको दाबी छ । यस्ता प्रकारको उद्योग मुलुकका सबै शहरमा आवश्यक रहेको उद्योग सञ्चालक सञ्जीव अग्रवाल बताउनुहुन्छ । 

यदि यस प्रकारको प्लान्ट मुलुकका सबै शहरमा स्थापना गर्न सक्ने हो भने स्थानीय तहमा फोहर व्यवस्थापनलाई ठूलो सघाउ पुग्ने र हाल बजारमा रहेका अन्य ग्यासको विकल्पको रुपमा स्थापित हुनसक्ने सञ्चालक सञ्जीव अग्रवाल बताउनुहुन्छ । 

करीब दुई बिघा क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा स्वचालित उपकरण जडित छन् । जसबाट मल फिट्ने, ग्यास बनाउने, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम हुने गर्दछ । अहिले प्रालिमा उत्पादित बायोग्यास रुपन्देही जिल्लाका विभिन्न ठूलाठूला होटलमा प्रयोग हुँदै आएको छ । यसको माग दिनप्रति दिन बढ्दै गएको प्रालिका प्लान्ट म्यानेजर सञ्जीव यादव बताउनुहुन्छ । 

कूल रु २२ करोडको लागतमा करीब एक वर्ष अघि निर्मित प्रालिमा ३७५० घनमिटर बायोग्यास प्लान्ट जडान गरी जैविक फोहरबाट बायोग्यास (बोटलिङ) उत्पादन हुँदै आएको छ । सो परियोजनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विश्व बैंक र जलवायु लगानीकोषअन्तर्गत सञ्चालित नवीकरणीय ऊर्जा विस्तार आयोजनाको रु चार करोड ९१ लाख नगद अनुदान सहायता प्राप्त भएको छ । 

स्थानीयस्तरमा रहेको गाईभैँसीको मल (गोबर) मोलासिस र अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्ने मुख्य कच्चा पदार्थ हुन् । जुन स्थानीयस्तरमै पर्याप्त मात्रमा पाइन्छ । प्रालिबाट हाल दैनिक करीब १०० को सङ्ख्यामा ग्यास सिण्लिडर तयार भई बजारमा जाने गर्दछ । प्रतिसिलिण्डरमा ११ केजी ६०० ग्राम बायोग्यास हुने प्रालिले जनाएको छ । उद्योगमा हाल २० कर्मचारी कार्यरत छन् । 

प्रालिमा बायोग्यास उत्पादन हुनु पहिलो आम्दानीको स्रोत हो भने अर्कोतर्फ उद्योगमा अन्तिम अवस्थामा विकार वस्तुको रुपमा रहने फोहरमैलालाई जैविक मलका रुपमा बिक्री गर्दै आएको छ । 

त्यहाँबाट उत्पादन हुने जैविक मा प्रतिकेजी रु १८ मा बिक्री हुने गरेको प्रालिले जनाएको छ । यस उद्योगले यसबाहेक ग्रिन इनर्जी परामर्श केन्द्रको स्थापनासमेत गरेको छ । आगामी दिनमा शैचालयबाट निस्कने फोहरमैलाको उचित व्यवस्थापना गरी बायोग्यास उत्पादन गर्ने लक्ष्य लिएको प्रालिले जनाएको छ । यस प्रकारको बायोग्यास उत्पादनले भारतीय बजारबाट नेपाल आयात हुने ग्यासको मात्रामा केही सामान्य मात्रामा भए पनि कमी आउने विश्वास लिएको छ । (तस्वीर उपलब्ध छ) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!