दुई महीनासम्म पाठ्यपुस्तक पुगेन

Posted on: 01 Apr, 2019

चैत १८, हुम्ला । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । 

शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो । पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने जिम्मा स्थानीय सरकारले लिए पनि अझैसम्म पुस्तक नपुगेको शिक्षक ऐडीले गुनासो गर्नुभयो । 

दुर्गम जिल्ला भएकाले विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमै नपुग्ने, जिल्ला बाहिरका शिक्षक घर बिदा जाँदा समयमै उपस्थित नहुनेलगायतका समस्याले यहाँका विद्यार्थीलाई अध्ययनको सिलसिलामा जिल्लाबाहिर जाँदा निकै समस्या हुने उहाँले बताउनुभयो । 

सञ्चारबिहीन सिमकोट 

हुम्लाको सदरमुकाम सिमकोट आसपासका नागरिक तीन दिनदेखि सञ्चार बिहीन भएका छन् । सदरमुकाम सिमकोटको किर्ने खर्केमा रहेको रेडियो लिङ्को टावरमा हिमपातका कारण सोलार भासिएपछि सिमकोट आसपासका सेवाग्राही मर्कामा परेका छन् । 

शनिबार बिहान ७:३० बजेदेखि सदरमुकाम सिमकोटमा टेलिफोन, इन्टरनेट सेवाबाट सेवाग्राही वञ्चित भएका छन् । किर्ने खर्केमा रहेको रेडियो लिङको टावरमा समस्या आएको नेपाल टेलिकम शाखा कार्यालयले जनाएको छ । हिमपातले सोलार भासिएर टावरमा समस्या भएको नेपाल टेलिकमका निमित्त कार्यालय प्रमुख रामबहादुर बोहराले जनाकारी दिनुभयो । 

प्राविधिक आउने वित्तिकै चार–पाँच दिनभित्रै टावरको मर्मत गरिने निमित्त प्रमुख बोहोराले बताउनुभयो । टेलिकमबाट प्रवाह हुने एडिएसएल सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयमा समेत थप प्रभाव परेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!