धादिङ खुला दिसामुक्त जिल्ला

Posted on: 07 Apr, 2019

चैत २४, धादिङबेसी (रासस) | धादिङ खुला दिसा मुक्त जिल्ला घोषणा भएको छ । घोषणासँगै अधिकांश वक्ताले कार्यान्वयनमा चुनौती रहेको धारणा व्यक्त गरेका छन् । 

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आज आयोजना गरेको एक समारोहबीच जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको हो । सो समारोहमा खुला दिसा मुक्त जिल्ला घोषणालाई कार्यान्वयन गर्ने सामुदायिक प्रतिबद्धता समेत गरिएको थियो । कार्यक्रममा  सरसफाई विज्ञ तथा युनिसेफका प्रतिनिधि बोधनारायण श्रेष्ठले सरसफाइसम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई दिइएकाले स्थानीय सरकारले सरसफाइको क्षेत्रमा लगानी नगर्ने हो भने विकासको कल्पना गर्नु निरर्थक हुने धारणा व्यक्त गर्नुभयो ।

सरसफाइमा विद्यावारिधि गर्नुभएका शान्ति नेपालका कार्यकारी निर्देशक डा कृष्णमान श्रेष्ठले सरसफाइ हाम्रो सभ्यता, संस्कार र पहिचान भएकाले यसमा गम्भीर भएर लाग्न सबैमा आग्रह गर्नुभयो । केही वर्ष अघि गरिएको एक सर्वेक्षणमा ठिकसँग हात धोएर खाने नेपालीको सङ्ख्या १२ प्रतिशत मात्र भएको डा शाक्यले स्मरण गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय खेमप्रसाद लोहनी र डा राजाराम कार्कीले स्वस्थ नागरिक बिना देशको विकास सम्भव नभएकाले सरसफाइमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ शर्मा, प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, नेपाल पत्रकार महासङ्घका अध्यक्ष नवराज छत्कुली, गैसस महासङ्घका अध्यक्ष एकराज छत्कुली लगायतको सहभागिता थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!