प्रदेश २ मा चैत ३० गते सार्वजनिक बिदा हुने

Posted on: 08 Apr, 2019

चैत २५, धनुषा । प्रदेश नम्बर २ मा चैत ३० गते सार्वजनिक बिदा हुने भएको छ । बारा र पर्साका भीषण हावाहुरीमा ज्यान गुमाएकाप्रति प्रदेश २ सरकारले चैत ३० शोक मनाउने घोषणा गरेको हो ।  

आइतबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिको अवसरमा आउँदो चैत ३० गते प्रदेश २ का आठ ओटै जिल्लामा शोक मनाउने निर्णय गरेको हो ।  

चैत ३० गते बिहान ११ बजे मृतकहरुको आत्माको चीर शान्तिको कामना गर्दै २ मिनेट मौन धारण गरिदिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षकलगायतमा प्रदेश २ सरकारले आह्वान गरेको छ । 

बैठकले प्रत्येक मृतक परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

गएको चैत १७ गते साँझ असिना, पानीसँगै आएको विनाशकारी हावाहुरीमा बारा र पर्साका २८ जनाको ज्यान जानुको साथै ५ सयभन्दा धेरै घाइते भएका थिए । त्यसको भोलिपल्ट चैत १८ गते बसेको प्रदेश २ को मन्त्रिपरिषदको आकस्मिक बैठकले जनधनको ठूलो क्षति भएकाले संघीय सरकारलाई राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!