सुत्केरी श्रीमती कुट्ने परियार प्रहरी खोरमा

Posted on: 09 Apr, 2019



फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । आइतबार बिहान सुत्केरी भएकी मुनालाई राति ९ बजेतिर मदनले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट मुनाको टाउकोमा गहिरो चोट लागेको छ ।मुनालाई छिमेकीको सहयोगमा राति नै जिल्ला अस्पताल लगिएको थियो ।


थप उपचारका लागि उनलाई सोमबार दिउँसो पोखरा लगिएको छ । उनको टाउकोमा ३१ टाका लगाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन् । ‘टाउकोमा गहिरो घाउ छ । सिटिस्क्यानका लागि पोखरा पठाइएको हो,’ उनले भनिन् । पर्वत जिल्ला अस्पतालमा सिटिस्क्यान सेवा नभएकाले पोखरा पठाइएको उनले बताइन् । 


मदनले रक्सीको सुरमा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मातेर राति घर आएका र एक्कासि हातपात गरेको मुनाले बताइन् । ‘कुटपिट त अरू वेला पनि गर्थे, सुत्केरी भएकै अवस्थामा त्यसो गर्लान् भन्ने सोचेकी थिइन् । तर, शिशु लिएर बसेकै अवस्थामा चिर्पटले टाउकोमा हाने,’ उनले रुँदै भनिन् । कुटपिट हुँदा घरमा अरू कोही नभएको उनले बताइन् । 


घरमा पटकपटक झैझगडा हुने भएपछि उनका ससुरा कमल नेपाली छुट्टै बस्ने गर्छन् । ‘पटक–पटक झगडा गर्ने र उदण्ड मच्चाउने गथ्र्यो, त्यही भएर अन्तै बस्छौँ । तर, श्रीमतीको यो हाल बनाउलाजस्तो लागेको थिएन,’ उनले भने ।छिमेकीले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि फलेवास नगरपालिका–१ कार्कीनेटाबाट गएको प्रहरीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ । पीडितबाट लिखित उजुरी नआइसकेकाले कानुनी प्रक्रिया अघि बढाउन नसकेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!