खोटाङमा रक्त सङ्कलन केन्द्रको भवन उद्घाटन

Posted on: 09 Apr, 2019

चैत २६, खोटाङ । जिल्ला अस्पतालमा निर्माण गरिएको रक्त सङ्कलन केन्द्रको भवन उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको भवन नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गर्नुभएको हो ।

नगरपालिकाको रु ३८ लाख लागतमा निर्माण गरिएको सुविधासम्पन्न चारकोठे भवन रहेको छ । रु ४१ लाखको प्राविधिक लागत अनुमान भए पनि रु ३८ लाखमै शौचालय र नुहाउने कोठा (बाथरुम) सहितको भवन निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सनमान खड्काले बताउनुभयो ।

औपचारिक उद्घाटन गरिएको भवनमा एक महीनाभित्र रक्त भण्डारणको कामसमेत सञ्चालन गरिने नगरप्रमुख रिजालले बताउनुभयो । अहिले रक्त सङ्कलन केन्द्रमा रहेको रगत हाल्ने झोला (ब्लडब्याग) मात्र प्रयोग गर्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि उक्त झोलासमेत नहुँदा शल्यक्रिया गराउन अस्पताल आउने बिरामी र रक्तदान गर्ने व्यक्तिलाई एकै ठाउँ राखेर उपचार गर्नुपर्ने बाध्यता थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म एक मात्र १५ श्ययाको अस्पताल रहेको छ । उपयुक्त भौतिक पूर्वाधार र दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई बाहिरी जिल्ला सिफारिश गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!