हर्षोल्लाससाथ मनाइयो नयाँ वर्ष २०७६

Posted on: 14 Apr, 2019

वैशाख १, काठमाडौँ (रासस) |  देशभर आज नयाँ वर्षका रुपमा विक्रम संवत् दुई हजार छयहत्तर (२०७६) हर्षोल्लासका साथ मनाइएको छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन आज नयाँ वर्षको पहिलो दिन मनाइएको हो ।  राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको भनी केही व्यक्तिले दाबी गरे पनि राजा विक्रमादित्यको शासनकालभन्दा २०० वर्षअघि नै यो संवत् चलेको अनुसन्धानदाता डा निर्मलमणि अधिकारीले बताउनुभयो ।

एकथरी संस्कृतिविद् काठमाडौँको हाँडीगाउँमा राजधानी बनाई राज्य गरेका राजा विक्रमादित्यले नै विसं चलाएको मत राख्छन् । ती विक्रमादित्यले साँखुको बज्रयोगिनीमा तपस्या गरेको इतिहासकार बताउँछन् । उनको टाउको अहिले पनि बज्रयोगिनीमा भएको विश्वास गरिन्छ । नयाँ वर्ष प्रवेशका दिन आज उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड देखिन्थ्यो । 

पशुपतिनाथ मन्दिरमा आज भक्तजनको विशेष घुइँचो लागेको थियो । धेरै दर्शनार्थी गाडी रिजर्भ गरेर नयाँ स्थानमा घुम्न गएका थिए । बिहानै स्नान गरेर घर, कोठा–आँगन सफा गरी मीठोमसिनो खाई साथीभाइ तथा इष्टमित्रसँग भेटघाट सर्वसाधारण व्यस्त थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!